mobile

कैलाली– २ मा वाम गठबन्धनका रावल विजयी

By RSS on Dec 13,2017 - 10:20

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उहाँका सहयोगी (पिए) हुनुहुन्थ्यो । राठौर हालै मात्र एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएको थियो । 

यो निर्वाचन क्षेत्रको यसअघि मंगलबार नै प्रदेशसभा (क) र (ख) को प्रदेशसभा सदस्यको नतिजा घोषणा भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउद १२ हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्यको यो निर्वाचन परिणामसहित कैलाली जिल्लाको सबै पाँच निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्र नं १ मा राजपा नेपाल र क्षेत्र नं २, ३, ४ र ५ मा वाम गठबन्धन विजयी भएको छ । रासस

ट्याग -  नेकपा (एमाले)का झपटबहादुर रावल

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img