mobile

रौतामाईको फ्याटुङ र डिल्लीबर गाउँ पहिलोपटक झिलीमिली

By RSS on Jan 05,2018 - 17:14

जिल्लाको रौतामाई गाउँपालिकाको मध्यविकट पहाडी गाउँ फ्याटुङ र डिल्लीबरमा पहिलोपटक स्थानीय खोलाबाट उत्पादित बिजुलीले गाउँ झिलीमिली भएको छ । 

तीन महिनाअघि स्थानीय फलामे खोलाबाट दुईकिलोवाट विद्युत् उत्पादन भई दुईदिनदेखि सो गाउँमा निरन्तर बिजुली बल्न थालेपछि गाउँघर नै झिलीमिली भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको रौता–८ का जितबहादुर मगर बताउनुहुन्छ । 

जिल्लाको प्रायः सबै गाउँघरमा विद्युत्को पहुँच पुगे पनि लामो समयदेखि रौतामाई गाउँपालिका–८ स्थित फ्याटुङ र डिल्लीबरवासी लामो समयदेखि कुपी बालेर रात कटाउनु पर्ने बाध्यता हटेको स्थानीयवासी कुमारी मगरले बताउनुभयो । अहिले गाउँको खोलाबाट बिजुली उत्पादन भएपछि रात पनि दिन जस्तै भएको उहाँको भनाइ छ । 

करिब रु १५ लाख ७१ हजारको लगानीमा फलामे खोलाबाट पावरहाउस निर्माण भएपछि अब गाउँमा बिजुली बाल्न, मोबाइल चार्ज गर्न रेडियो, टिभी सुन्न र हेर्नसमेत सहज भएको डिल्लीबरका हेमराज खत्री उल्लेख गर्नुहुन्छ । 

यस्तै गाउँको स्थानीय विद्यालयमा अब कम्प्युटर शिक्षा सञ्चालन गर्नसमेत सहज भएको रौता पञ्चकन्यामाई प्राथमिक विद्यालयका शिक्षक राजन कार्की बताउनुहुन्छ । 

ओरेक नेपाल तथा सामाजिक परिचालन ग्रामीण प्रविधि सेवा केन्द्रको प्राविधिक सहयोग र जिआइजेड तथा रौतामाई वडा नं ८ र स्थानीय उपभोक्ताको आर्थिक लगानीमा उक्त विद्युत् उत्पादन गरिएको उपभोक्ता समितिका अध्यक्ष शुरबहादुर मगर जानकारी दिनुहुन्छ । 

आफ्नै परिश्रम र लगानीबाट अँध्यारो रहेको गाउँमा पहिलोपटक बिजुली बाल्न पाएका कारण आफूहरुले साँच्चिकै विकासको महसुस गरेको स्थानीयवासी राजकुमार आले मगरको धारणा छ । 

चौँतिस घर परिवार रहेको उक्त दुईगाउँमा विद्युत्बाट गाउँमा नै पहिलोपटक घट्टासमेत सञ्चालन गरिएकोे उपभोक्ता समितिका अध्यक्ष मगर बताउनुहुन्छ । रासस

ट्याग -  पहिलोपटक स्थानीय खोलाबाट उत्पादित बिजुलीले गाउँ झिलीमिली

SUGGESTED ARTICLES

img
पर्यटनका लागि घरवास र पदयात्रा

पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ । नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो । 


by RSS | Jan 19

img