mobile

खानेपानीका पाँच ट्याङ्की निर्माण

By RSS on Jan 18,2018 - 13:52

बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ । 

मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासीले समयमै खानेपानी नआउने र आए पनि एक घण्टा बढी नआउने समस्या झेल्दै आएको बताइएको छ । 

जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले खानेपानी उपभोक्ता समितिलाई नगरमै राखी खानेपानी व्यवस्थित गर्न थालेको बडीमालिका नगरपालिकाको ८ नं वडा अध्यक्ष प्रकाश रावलले बताउनुभएको छ । 

उहाँले सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी उद्योगी, व्यापारी, होटल व्यवसायीलाई सहजरुपमा खानेपानी उपलब्ध गराउनका लागि विभिन्न स्थानमा पाँच वटा ट्याङ्की निर्माण गरिने बताउनुभयो । 

सदरमुकामभित्रै रहेका भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि रहेको जनस्वास्थ्यको जमिनमा, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा खानेपानीका पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिनुभएको छ । 

नगर प्रमुखले दिएको जानकारीअनुसार खानेपानी ट्याङ्की निर्माणका लागि रु एक करोड एक लाख बजेट प्रथम नगरसभाबाट विनियोजन गरिएकाले सोहीअनुसार एक ट्याङ्की ५० घनमिटरको बनाउने गरी मार्तडी बृहत् खानेपानी उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको बताउनुभयो । 

खानेपानी पाँच ट्याङ्की निर्माणका लागि रकम कम हुने भएकाले थप गर्नुपर्ने भएको नगर प्रमुख बडुवालले बताउनुभयो । खानेपानी ट्याङ्की निर्माणपछि समस्याको समाधान हुनेछ । उहाँले खानेपानी प्रयोगकर्तालाई धारामा टुटी प्रयोग गर्न आग्रह गर्नुभएको छ । धारामा टुटी नलगाउनेको खानेपानीको लाइन काटिने बडुवालको भनाइ छ । रासस

ट्याग -  बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु

SUGGESTED ARTICLES

img
मिलन भवन बनाउन रु ४० लाखको जग्गादान

ज्येष्ठ नागरिकको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले रु ४० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । सदरमुकाम कुश्माको वडा नं ७ खरेहामा बनाउने भनिएको भवनका लागि स्थानीय ६६ वर्षीय महानन्द शर्माले तीनआना तीनदाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपूर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिनुभएको हो । 


by RSS | Today, 12:15 PM

img