mobile

वीरगन्ज सुख्खा बन्दरगाहबाट आयात बढ्यो

By Anu Rana on Feb 05,2018 - 12:49

वीरगन्ज सुक्खा बन्दरगाहमार्फत आयात कारोबार बढिरहेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष ०७३÷७४ मा सुक्खा बन्दरगामा ३६ हजार तीन सय ५८ कन्टेनर आएका थिए । त्यस्तै एक पटकमा करिब दुई हजार चार सय टन एकै प्रकारको बोराबन्द सामान लिएर आउने रेक दुई सय आएका थिए । यसमा करिब चार लाख ८० हजार टन सामान आएको थियो । विभिन्न खालको फलाम बोकेर आउने रेक दुई सय ४५ वटा आएका थिए।

जसमा विभिन्नखाले उद्योगले कच्चा पदार्थको रुपमा मँगाएको फलाम करिब पाँच लाख ८८ हजार मेट्रिक टन भित्रिएको थियो । सुक्खा बन्दरगाह भएर आयात व्यापार बढेकाले यसलाई सोही अनुसार व्यवस्थापन गर्न अब सरकारले पनि लगानी थप्नुपर्ने आयातकर्ता बताउँछन् । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदिप केडियाले १२ देखि सञ्चालनमा रहेको सुक्खा बन्दरगाहमा भौतिक परिमार्जन आवश्यक भएको बताए।

गत वर्ष प्रतिमहिना करिब ३० रेकको औसतले आएका कन्टेनरमा बढीमा २० प्रतिशत वृद्धि हुँदा महिनामा ३६ रेकसम्म कन्टेनर आउने भनी गरिएको आँकलनभन्दा बढी कन्टेनर आउन थालेका छन् । एउटा रेकमा २० फिट एकाइको ९० कन्टेनर आउने गरेका छन् । अंग्रेजी सम्बत अनुसारको आर्थिक वर्ष २०१७÷०१८ को जनवरी महिनामा ४४ वटा रेक विदेशी मालवस्तु बोकेर भारतीय बन्दरगाहबाट सिर्सिया सुक्खा बन्दरगाहमा आएका छन् । यो भनेको तीन हजार नौ सय ६० कन्टेनर हो । डिसेम्बरमा ४२ रेकमा तीन हजार सात सय ८० र नोभेम्बरमा ४० रेकमा तीन हजार ६ सय कन्टेनर रेलमार्ग भएर सुक्खा बन्दरगाह भित्रिएको छ । अक्टोबरसम्म सामान्य संख्यामा ३१ वटा रेकमा दुई हजार सात सय ९० कन्टेनर आएका थिए ।

वर्षको तुलनामा यो वर्ष वीरगन्ज सुक्खा बन्दरगाह भएर विदेशी मालवस्तु आयात निकै बढेको छ । नेपालका लागि तेस्रो मुलुकबाट माल समान आउने प्रमुख नाका वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आँकलनभन्दा बढी संख्यामा मालवाहक कन्टेनर आउन थालेका छन् । कोलकतास्थित भारतीय बन्दरगाहबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा विदेशबाट आयातित मालवस्तुका कन्टेनरको संख्या पछिल्लो समयमा बढ्दो छ ।

‘नोभेम्बरदेखि कन्टेनरको संख्या बढेको छ,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले नागरिकलाई भने, ‘पछिल्लो एक महिनाको अवधिमा रेलमार्गबाट अहिलेसम्मकै सर्वाधिक कन्टेनर आएको छ ।’ अहिले नेपाली कार्गोका लागि यसका सबै सरोकारवालाबीच राम्ररी समन्वय भएपछि ‘रेकर्ड ब्रेकिङ’ किसिमले ढुवानी हुन पाएको चौधरीले बताए । कन्टेनर लिएर आएका रेक यताबाट पनि खाली वा भर्ती कन्टेनर लोड गरेर हिँडेमात्र यसको ओसारपसारको शृंखला सुचारु रहने भएकाले आयातकर्ता व्यापारीलाई खाली कन्टेनर बेलैमा फर्काउन आफूहरुले आग्रह दोहर्याइरहेको उनले बताए ।

यो वर्ष वर्षातको मौसममा उतर भारतको बिहार प्रान्तमा रेल लाइन र सडकमार्ग क्षतिग्रस्त भएपछि करिब महिनासम्म नेपाली कार्गो आवागमन अवरुद्ध भएको थियो । त्यसपछि दसैंतिहारको बिदाताका सुरु भएको कोलकतास्थित बन्दरगाहको जाम कन्जेसन दुई महिना चलेको थियो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले पछिल्लो समयमा विदेशी सामान आयातमा देखिएका समस्यामा सुधार भएको बताउँछन् ।

अंग्रेजी वर्ष अनुसारको १० महिनामा यसपालि दुई सय ८३ रेक आएका छन् । जसमध्ये दुई सय ५८ वटा कोलकताबाट र २५ रेक आन्ध्र प्रदेशको बिशाखापट्नमबाट आएका हुन् । नेपाली कार्गो ओसार्न १६ वटा ट्रेन ‘डेडिकेटेड’ गरिएको कन्कोरका पूर्वी क्षेत्रीय कार्यालयले जनाएको छ ।

ट्याग -  सुक्खा बन्दरगाह , वीरगन्ज ,

SUGGESTED ARTICLES

img
निक्षेप संकलन घट्यो

विदेशी मुद्रामा वाणिज्य बैंकहरुमा हुने निक्षेप घट्दा निक्षेप ओरालो लागेको छ । संचालनमा रहेका २८ वाणिज्य बैंकसँग गत माघको ७ सम्ममा २२ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप थियो ।


by Anu Rana | Feb 24

img