mobile

महाशिवरात्रि पर्व मनाइदै, पशुपतिनाथ सहित देशभरका शिवालयमा घुँइचो

By R. sharma on Feb 13,2018 - 08:33

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । पशुपतिनाथमा बिहान ३ बजेदेखि नै पूजा गर्न सुरु भएको थियो । रातिदेखि नै भक्तजनहरू पशुपति क्षेत्र पुगेका थिए । त्यस्तै मुलुकका अन्य शिवालयमा पनि बिहानै घुइचो बढेको छ ।

 विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो । एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार ११६ वर्षअघि अहिलेको सृष्टिका शिवजीले अवतार लिएको शास्त्रसम्मत तथ्य भएको धर्मशास्त्रविद् भोजराज आचार्यले  जानकारी दिए ।

“ब्रह्मा, विष्णु र शिवका नाममा सृष्टि, पालन र संहार गर्न फरक नाम भए पनि तीनै तत्व एकै हुन्, शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रुपमा शिव तत्वको महत्व बढी उल्लेख गरिएको छ”– उनले थपे ।मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ ।

 भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शङ्करलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यसदिन विश्वभरका हिन्दू धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।यस अवसरमा आज मुलुकभर रहेका शिवालयमा पनि पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको लाम लाग्ने गर्छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिन्छ ।

 शिवरात्रिको विकृतिस्वरुप गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्ने परम्परा पनि समाजमा बढ्न थालेको छ । यस वर्ष पशुपति क्षेत्रमा गाँजा निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि मंगलबार दिनभर त्रयोदशी तिथि भए पनि राति १०:५० देखि चतुर्दशी लाग्दैछ। जसका कारण कतिपय ठाउमा भोलि शिवरात्री मनाउने बताइएको छ ।  

ट्याग -  महाशिवरात्री

SUGGESTED ARTICLES

img
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो । 


by RSS | Today, 12:53 PM

img