mobile

एनसेल टावरमा आगजनी

By RSS on Feb 13,2018 - 13:53

विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ । 

रोल्पा–सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिनुभयो । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् । 

बम विस्फोटको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ । फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुन सक्ने अनुमान गरिएको छ । 

विसं २०५२ साल फागुन १ गते शुरु भएको सशस्त्र युद्धको सम्झनास्वरुप माओवादी घटकहरुले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलको आयोजनामा सदरमुकाम लिवाङमा कार्यक्रम सम्पन्न भएको छ भने नेकपा थवाङ गाउँपालिकाको आयोजनामा थवाङमा सप्ताहव्यापी कार्यक्रम भइरहेको बताइएको छ । रासस

ट्याग -  एनसेल टावरमा गए राति आगजनी

SUGGESTED ARTICLES

img
मिलन भवन बनाउन रु ४० लाखको जग्गादान

ज्येष्ठ नागरिकको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले रु ४० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । सदरमुकाम कुश्माको वडा नं ७ खरेहामा बनाउने भनिएको भवनका लागि स्थानीय ६६ वर्षीय महानन्द शर्माले तीनआना तीनदाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपूर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिनुभएको हो । 


by RSS | Today, 12:15 PM

img