mobile

लोप हुँदै कोदो खेती 

By RSS on Feb 13,2018 - 15:53

पाल्पामा कोदो खेती लोप हुँदै गएको छ । कोदो खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । कोदो फल्ने ठाउँमा नै कृषकले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ । 

पाँच वर्षअघिसम्म बगनासकाली गाउँपालिका खानीगाउँका डोलराज बस्यालको बारीमा प्रशस्तै कोदो फल्थ्यो । अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल भएको छ । बस्याललगायतका गाउँका धेरै कृषकले पाखोबारीमा कोदो लगाएर पर्याप्त कमाइ गर्दथे । अहिले धेरैले कोदो लगाउन छाडिसकेका छन् । 

परम्परागत रुपमा गरिँदै आएको कोदो औषधिका रुपमा प्रयोग हुने गरेको छ । पहिला बर्खे खेतीका रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो । 

कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसतर्फको आकर्षण घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका बासिन्दा शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले खेती लोप हुने अवस्थामा पुगेको रामपुर नगरपालिकाका कृषक सरस्वती सोमै बताउनुहुन्छ । 

“धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुईचार पैसा आम्दानी हुन्थ्यो, अहिले कोदो लगाउने जमिन वनमारा झारले भरिन थालेको छ”, उहाँले भन्नुभयो । 

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो । आजभोलि सबै हराएको छ । खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको कृषक बताउँछन् । 

गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारतिर खोजीखोजी खाना थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौजस्ता स्थानीय अन्नप्रतिको आकर्षण घट्दै गएको हो । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदैछन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढ्न थालेको छ । 

धान, गहुँ र मकै जस्तै महत्व नदिएका कारण कोदो लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ बताउनुहुन्छ । निस्दी गाउँपालिकाको मित्याल क्षेत्रलाई कोदो खेतीको पकेट क्षेत्रका रुपमा लिएकाले कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बीउबिजन र मेसिनरी औजार उपलब्ध गराउँदै आएको श्रेष्ठले बताउनुभयो । 

जिल्लामा दुई हजार ५३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । कम सिचाँइ, मल र मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ । रासस

ट्याग -  कोदो खेती लोप हुँदै

SUGGESTED ARTICLES

img
पत्रकार आचारसंहिता जागरण अभियान शुरु

प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ । पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण अभियान शुरु गरेको हो । अभियानअन्तर्गत जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तक्र्रिया, गोष्ठी, प्रेस अनुगमन, आचारसंहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको


by RSS | Today, 01:36 PM

img