mobile

म्याग्दीका शिक्षकले तलब पाएनन्

By RSS on Feb 14,2018 - 11:00

म्याग्दीका तीनवटा स्थानीय तहका शिक्षकले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताले गत मंसिरमै पाउनुपर्ने तलब अझै नपाएका हुन् । 

स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता, कर्मचारीको ढिलासुस्ती, शिक्षा मन्त्रालयको लापर्बाही र शिक्षा कार्यालयको समन्वयको कमीका कारण समयमै तलबभत्ता पाउन नसकेको रघुगंगा गाउँपालिका– ३ को रघुगंगा माविका प्रधानाध्यापक रमेशसिङ ठकुरीले बताउनुभयो । 

राज्य पुनःसंरचनासँगै शिक्षा मन्त्रालयले शिक्षकको तलबभत्ता, मसलन्द, छात्रावृत्ति, पाठ्यपुस्तक खरिदको बजेटसहित २३ वटा अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ । स्थानीय तहले तलबभत्ता निकासा गर्न ढिलाइ गर्दा शिक्षक समस्यामा परेको नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिकाका शिक्षकले पहिलो चौमासिकको समेत पूरा तलब पाएका छैनन् । म्याग्दीका अन्य स्थानीय तहका शिक्षक कर्मचारीले समयमै तलबभत्ता पाए पनि बेनपा, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले दुई महिना ढिलाइ हुँदासमेत तलब उपलब्ध गराउन नसकेकाले आन्दोलन गर्ने निर्णय भएको सुवेदीले जानकारी दिनुभयो । 

उहाँले शिक्षकको सरुवा र नियुक्तिमा चासो दिने जनप्रतिनिधिले समयमै तलब खुवाउन नसकेर लाचारी प्रस्तुत गरेको आरोप लगाउनुभयो । बेनी नगरपालिकामा ५५४, रघुगंगामा २७८ र अन्नपूर्ण गाउँपालिकामा ३०२ गरी तीनवटा स्थानीय तहमा एक हजार १३४ जना शिक्षक कर्मचारी समयमै तलब पाउनबाट बञ्चित भएका हुन् । 

स्थानीय तहको बेवास्ताका कारण हालसम्म मसलन्द खर्चका साथै आगामी आवको पाठ्यपुस्तक खरिद र छात्रवृत्ति वितरणका लागि अझै बजेट निकासा नभएको शिक्षकले बताएका छन् । 

रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चापागार्इंले शिक्षा मन्त्रालयले आवश्यकताअनुसार पर्याप्त बजेट नपठाएको, शिक्षा शाखा हेर्ने कर्मचारी नभएको र एकजना मात्र लेखापालले धेरै काम गर्न नभ्याएकाले शिक्षकको तलब भुक्तानीमा ढिलाइ भएको बताउनुभयो । 

अपुग बजेट व्यवस्थापनका लागि मन्त्रालयमा पहल गरिने र केही दिनमै बजेट निकासा गर्ने तयारी भएको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले शिक्षा मन्त्रालयले शिक्षकको तलबभत्ताका लागि आवश्यक पर्नेभन्दा ३० प्रतिशत कम बजेट पठाएकाले थप बजेटका लागि मन्त्रालयसँग पहल गरेको बताउनुभयो । रासस

ट्याग -  शिक्षकले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको तलब अझै पाउन सकेका छैनन्

SUGGESTED ARTICLES

img
फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिनुभएको हो । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुनुहुन्छ । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ ।


by RSS | Feb 25

img