mobile

प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुने प्रचण्डको भनाइ 

By R. sharma on Feb 16,2018 - 22:49

एमालेसँग सबै विषयमा सहमति नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणको दिन माओवादी मन्त्रीहरूले शपथ लिन नसकेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। माओवादी भ्रातृ संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले माओवादी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नगएपछि उठेका आशंकाहरूप्रति लक्षित गर्दै सरकार र पार्टी एकतालगायतका विषयमा प्याकेजमा सहमति नभएकाले सरकारमा नगएको बताए। 'सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ', प्रचण्डले भने, 'तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौँ।

अहिले सकारात्मक छलफल सुरु भएको छ।' पार्टी एकताबारे अधिकांश विषयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा मिलिसकेको केही कुरा मात्रै मिल्न बाँकी रहेको प्रचण्डको भनाइ थियो। वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, 'विभिन्न समयमा भाषणमा शिक्षा क्षेत्रको कुरा निकै उठ्यो। तर, अहिलेसम्म यो क्षेत्र उपेक्षित नै छ। २० प्रतिशत बजेट अझै पुर्‍याउन सकिएको छैन।' उनले विगतका सरकारले शिक्षक र शिक्षा क्षेत्रमा गर्न नसकेका काम अबको सरकारले गर्ने बताए। उनले शिक्षामा अनुसन्धानका कार्यक्रमका लागि बजेट छुट्याउने पनि बताए। प्रचण्डले भने, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ।

ट्याग -  प्रचण्ड

LATEST NEWS

SUGGESTED ARTICLES

img