mobile

रेशमलाललाई स्थानान्तरण गर्न सकिनेः मन्त्री शाह

By RSS on Mar 05,2018 - 21:04

प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्न सकिने स्पष्ट पार्नुभयो ।

कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकोतर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झण्डै ३० महिनापछि केही दिनअघि मात्र अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशबमोजिम कैलाली कारागारमा रहेका चौधरीसहितका टीकापुर घटनाका आरोपी २४ जनाले कारागारमा आइतबारदेखि अनशनमा बसेका छन् ।

मन्त्री शाहले कार्यक्रममा सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा मन्त्रालयको भौतिक व्यवस्थापनको सुदृढीकरणका साथै मन्त्रालयमा आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्यप्रणाली लागू गर्ने कामलाई पहिलो प्राथमिकता दिनुभएको छ ।

यसैगरी, उहाँले वेवसाइटको व्यवस्था गरी सूचना प्रवाह गर्ने, प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गर्ने, गृहमन्त्रीसँग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको व्यवस्था गरी ‘जनमत शान्ति अभियान’ थालनी गर्ने, प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको कानून निर्माणका लागि कानून तर्जुमा समिति गठन गर्ने, प्रदेशको आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन गर्ने, सुरक्षाको सन्दर्भमा पाश्र्वचित्र तयार गर्ने, ‘सुदृढ शान्ति सुरक्षाः प्रदेश समृद्धिको आधार’ भन्ने अभियानसहित सुरक्षाको व्यवस्था गर्ने, विपद् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, जनउत्तरदायी प्रशासन सञ्चालन गर्नेलगायतका १८ बुँदे प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

ट्याग -  टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने

SUGGESTED ARTICLES

img
फिलिपिन्समा भयानक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो  

फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भयानक आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ। यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ। 


by Anu Rana | Today, 05:29 PM

img