mobile

भिआइपीकै नगरमा छैन शौचालय

By Anu Rana on Mar 11,2018 - 20:39

नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि राज्यले घोषणा गरेका सरसफाइ दूत सिताराम कट्टेल धुर्मुसको गृहनगर अझै पनि खुल्ला दिसामुक्त हुन सकेको छैन । धुर्मुस झापा गौरादह नगरपालिकाका वासिन्दा हुन् । गौरादह नगरपालिका सरसफाइ दूत एवम् सामाजिक अभियानकर्ता धुर्मुसको गृहनगर मात्र होइन प्रधानमन्त्री केपी शर्माको निर्वाचन क्षेत्रपनि हो । अर्थमन्त्री डा । युवराज खतिवडा, महान्यायाधिवक्ता अग्नी खरेल, १ नं । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीको पनि गृह नगर हो गौरादह नगरपालिका । तर, झापामा सबैभन्दा बढी शौचालय बन्न बाँकी रहेको नगरपालिका पनि गौरादह नै हो । गौरादह नगरपालिकामा अझै पनि ३ हजार घरधुरीमा सुरक्षित शौचालय बन्न बाँकी छ ।

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, जिल्ला समन्वय अधिकारी खेमराज ओझा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख सीताराम काफ्लेका साथै खुला दिसामुक्त अभियान सहजीकरण गरिरहेका निकायका प्रतिनिधिहरुले नगरपालिकाको वडा नम्बर ६, ७ र ८ को स्थलगत अनुगमन यस्तो भेटिएको हो ।

घरमा ट्याक्टर, निजी चारपांग्रे सवारी र मोटरसाइकल हुनेले समेत चर्पी नबनाएको आइतबार अनुगमनमा भेटिएको हो । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले अभियान स्थानीय तहसम्म पुग्न नसकेको गुनासो गरे । ‘राष्ट्रिय व्यक्तित्वहरु जन्माएको र हुर्काएको ठाउँमा अझैसम्म खुला दिसामुक्त अभियान स्थानीयकरण हुन नसक्नु दु:खद पक्ष हो’, अध्यक्ष पोर्तेलले भने, ‘बत्तीमुनिको अँध्यारोजस्तै बनेको गौरादह नगरपालिकाकै कारण जिल्ला खुला दिसामुक्त घोषणा हुनबाट नरोकियोस् ।’

निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले खुला दिसामुक्त घोषणा जिल्लाको इज्जतसँग जोडिएकोले संयुक्त अनुगमन टोली बनाई स्थानीय तहमा खुला दिसामुक्त अभियानको स्थलगत अनुगमन थालिएको बताए । ‘खुल्ला दिसामुक्त अवस्था हासिल हुन नसकेका अन्य स्थानीय तहमा समेत जिल्लाको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गर्नेे पौडेलले बताए ।

नेपाल सरकारले खुलामा दिसा गर्ने कार्यलाई सामाजिक अपराध मानिसकेको छ । तर गाउँमा भने शौचालय छैन । स्थानीय खुला ठाउँमा शौच गर्छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले शौचालयमा शौच गर्न स्थानीयलाई आग्रह गर्दै भने, ‘हरेक कारणले शौचालय शौचका लागि सुरक्षित छ ।’

 गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले नगरपालिकामा खुला दिसामुक्त अभियानलाई तीव्रता दिन नसकिएको स्वीकार गरे । ‘हामी निर्वाचित हुनुभन्दा अगाडि पनि खुला दिसामुक्त अभियान त चलेको थियो’, उनले भने, ‘तर धेरै घरधुरी बाँकी रहेको र ठूलो भौगोलिक क्षेत्र भएकोले अभियान प्रभावकारी हुन सकेको छैन ।’

 जिल्लाको संयुक्त अनुगमन टोली गौरादह नगरपालिकाको अनुगमनपश्चात् शिवसताक्षी नगरपालिकाको वडा नम्बर ७ मा शौचालय निर्माण र सरसफाई प्रबर्द्धनको अनुगमन गरेको थियो । शिवसताक्षी नगरपालिकालाई तोकिएकै मितिमा खुला दिसामुक्त घोषणा गर्नका लागि आवश्यक मानव संशाधन थप गरिसकिएको सहजीकरण गर्ने संस्था विराट सामुदायिक अध्ययन केन्द्रका अभियान संयोजक महेन्द्र कार्कीले बताए । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाले जिल्लालाई २०७४ चैत २२ गते खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ ।

 

ट्याग -  गौरादह नगरपालिका , शौचालय

LATEST NEWS

SUGGESTED ARTICLES

img