mobile

सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान

By RSS on Mar 14,2018 - 17:01

नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ । चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो । 

सम्मानितहुने मुख्यमन्त्रीमा प्रदेश–१ का शेरधन राई, प्रदेश–२ का लालबाबु राउत गद्दी, प्रदेश–३ का डोरमणि पौडेल, प्रदेश–४ का पृथ्वीसुब्बा गुरुङ, प्रदेश–५ का शंकर पोखरेल, प्रदेश–६ अर्थात कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र प्रदेश–७ का त्रिलोचन भट्ट रहनुभएको छ । 

सो अवसरमा प्रदेश–१ का मुख्यमन्त्री राईले मुलुकमा राजनीतिक मुद्दा सकिँदै गएको र आर्थिक विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै “निजी क्षेत्रको सुझावलाई लिएर प्रदेश सरकार अगाडि बढ्छ,” भन्नुभयो । 

प्रदेश–२ का मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना मुलुक समृद्ध नहुने बताउँदै निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश नं–२ तयार रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रदेश–३ का मुख्यमन्त्री पौडेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुक समृद्ध हुन नसक्ने उल्लेख गर्दै लगानीको वातावरण निर्माणका लागि चाहिने ऐन कानून बनाउन आफ्नो प्रदेश लाग्ने बताउनुभयो । 

प्रदेश–४ मुख्यमन्त्री गुरुङले स्रोत र साधनको व्यवस्थापन गरेमात्र प्रदेश समृद्ध हुने भन्दै निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्न नसक्ने विचार व्यक्त गर्नुभयो । 

प्रदेश–५ का मुख्यमन्त्री पोखरेलले काठमाडौँमा बसेर समृद्धिका कुरा गरेर नहुने भन्दै समृद्ध मुलुक निर्माणका लागि सबै क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अधिकार सम्पन्न प्रदेश नभएसम्म मुलुकको विकास हुन नसक्ने भन्दै प्रदेशलाई अधिकार दिने कुरामा केन्द्रले कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गर्नुभयो । 

प्रदेश–७ का मुख्यमन्त्री भट्टले कृषि, पर्यटन, जलविद्युत् र जडीबुटी आर्थिक विकासको मेरुदण्ड भएकाले यसको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो । 

चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले प्रदेशको विकास भएमात्र मुलुकको विकास हुने भएकाले मुलुकलाई समृद्धितर्फ लैजान प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । रासस

ट्याग -  सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान

SUGGESTED ARTICLES

img
नेपालगञ्ज उपमहानगरपालिका बालमैत्री घोषणामा आशंका

नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान यहाँ सञ्चालन गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा अभियान सफल नहुनेमा आशंका व्यक्त हुन थालेको छ । यस्तै बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करीब तीन हजारभन्दा बढी बालबालिका अहिले पनि श्रमिकका रुपमा कार्यरत रहनु अभियानको मुख्य चुनौती बनेको छ । एघार वर्षअघि (सन् २००७ नोभेम्बर २० मा)


by RSS | Today, 02:17 PM

img