mobile

हवाइ यात्राबारे गलत प्रचार भइरहेको भन्दै खण्डन गरिदिन सरकारलाई आग्रह

By Anu Rana on Mar 18,2018 - 19:52

पोखरा पर्यटन परिषदले हालै भएको हवाई जहाज दुर्घटनालाई आधार बनाएर नेपालको हवाई यात्रा असुरक्षित छ भनेर प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषदले विज्ञप्ती प्रकाशित गरी यहि फागुन २८ गते भएको दुर्घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन नै तयार गरिनसकेको अवस्थामा सिएनएन, बिबिसीलगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सत्यतथ्य नै नबुझी गलत सूचनाको भरमा नेपालको हवाई यात्रा असुरक्षित छ भनेर गरेको कुप्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

परिषदका अध्यक्ष केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा छानविन समितिको प्रतिवेदन नै नआई हचुवाको भरमा नेपालको हवाई यात्रा असुरक्षित छ भनेर प्रचार गर्दा नेपालको पर्यटनमा नकारात्मक असर पर्ने जनाइएको छ । परिषदले अनर्गल प्रचारले नेपालको पर्यटनमा असर परेकाले तत्काल त्यसको खण्डन गरेर नेपालको हवाई यात्रा सुरक्षित रहेको सन्देश विश्वभरी पुर्‍याउन नेपाल सरकारलाई आग्रह गरेको छ । साथै उसले घटनाका कारणहरु पत्ता लगाएर यथार्थ जानकारी गराउन पनि सरकारलाई अनुरोध गरेको छ । 

परिषदले विज्ञप्ती निकाल्नुअघि शुक्रबार दिउँसो पर्यटनसँग सम्बद्ध संघसंस्थासँग छलफल गरेको थियो । छलफलमा सहभागिहरुले सरकारले यथार्थ जानकारी नगराउँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफूखुशी नेपालको हवाइ ट्राफिक जाम र असुरक्षित हवाइ यात्राका कारण दुर्घटना भएको भनेर कुप्रचार गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर परेको भन्दै त्यसको खण्डनका लागि नेपाल सरकारलाई आग्रह गर्नुपर्ने बताएका थिए ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले दुर्घटनाको कारण के हो ? त्यो छानविन समितिको प्रतिवेदनले देखाउने भएकाले यसलाई अतिरञ्जित तरिकाले प्रचार गरेकोमा आपत्ति जनाए । उनले छानविन समितिले कछुवा गतिमा काम गर्दा त्यसको असर पर्यटनमा पर्ने भएकाले चाँडो भन्दा चाँडो प्रतिवेदन बनाउनका लागि सरकारलाई दवाब दिनुपर्ने बताए ।

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान)पोखराका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले सत्य एउटा भएपनि अत्याधुनिक सञ्चार माध्यमको प्रयोगका कारण मनगढन्ते कारण देखाएर नेपालको बेइजत गरिएकाले त्यसको प्रतिवाद सरकारले गर्नुपर्ने बताए ।

पर्यटन बोर्डका पूर्व केन्द्रीय सदस्य अग्नी कँडेलले नेपालको हवाई यात्रा र पर्यटन क्षेत्र सुरक्षित छ भनेर राज्यले नै सम्पूर्ण देशका राजदुत र सञ्चार माध्यम बोलाएर जानकारी गराउनुपर्ने पनि  बताए । पर्यटन परिषदका निवर्तमान अध्यक्ष सोम थापाले राज्यले दुर्घटनाको आधिकारिक जानकारी गराएर अन्र्तराष्ट्रिय रुपमा गएको नकारात्मक सन्देशको खण्डन गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा पोर्चगलका नागरिक जोकिस जोसे लुजिया परेरियाले २८ गते भएको विमान दुर्घटनाको विषयलाई लिएर सिएनएन र बीबीसी लगायतका सञ्चार माध्यमले नेपालको हवाई यात्रा असुरक्षित भनेर समाचार प्रशारण गर्दा विश्वभरी नै गलत सन्देश गएको जानकारी गराए । 

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले राज्यले यस्तो गलत सूचना तथ अन्तर्राष्ट्रिय रुपमा गएको नकारात्मक सन्देशको पनि  खण्डन गरेर नेपालको हवाई यात्रा सुरक्षित छ भन्ने विश्वास दिलाउने दायित्व सरकारको भएको बताएका छन  ।

ट्याग -  पर्यटन बोर्ड , हवाई जहाज दुर्घटना , सरकारलाई आग्रह

LATEST NEWS

SUGGESTED ARTICLES

img