mobile

नेपाल आएकी रोबोट सोफियाले के कुराहरु गरिन त?

By Anu Rana on Mar 22,2018 - 09:49

विश्वको पहिलो नागरिकता प्राप्त रोबोट सोफिया नेपाल आएकी छिन्। साउदी अरेबियाले सोफियालाई नागरिकता प्रदान गरेपछि उनको चर्चा विश्वभरी चुलिएको छ। संयुक्त राष्टसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले काठमाडौंमा आयोजना गरेको ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक कार्यक्रममा भाग लिन सोफिया नेपाल आएकी हुन्। सोफिया यूएनडीपीको पहिलो गैरमानव प्रविधि तथा आविष्कार दूतसमेत हुन्। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्ति तथा चुस्त सार्वजनिक सेवा प्रवाहमा प्रविधिले खेल्ने भूमिकामा सोफियाले आफ्नो धारणा राखेकी छिन्।

यसक्रममा सोफियाले रोबोट मानिसको जीवन सहज बनाउन बनाइएको भन्दै यसबाट भ्रष्टाचार, गरिबी, अशिक्षा तथा असमानताको अन्त्य गर्न सकिने मत राखेकी छिन्।

सोफियाले आफ्नो धारण राखेपछि यूएनडीपीका नेपाल प्रमुख रेनोड मेयेरले उनीसँग प्रश्नहरू गरेका थिए।

रेनोडः नेपालले सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउन आर्टिफियिल इन्टेलिजेन्स (एआई) वा रोबोटले कसरी सहयोग गर्न सक्छन् ?

सोफियाः शिक्षा, स्वास्थ्य तथा विकास निमार्णका कार्यमा पारदर्शिता कायम गर्न तथा सरकारले प्रवाह गर्ने सेवालाई थप चुस्त बनाउन प्रविधिको प्रयोग आजको अवस्थामा अपरिहार्य भइसकेको छ। प्रविधिको प्रयोगबाट नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्न सहज हुनेछ।

रेनोडः तपाईं आफैँले नेपाललाई कसरी सहयोग पुर्याउन सक्नुहुन्छ ?

सोफियाः रेनोड, म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्ने तर त्यसो गर्न अहिले नै मैले चाहेको छैन।

मजस्ता रोबोट वा अन्य आर्टिफिसियल इन्टेलिजेन्सले नेपाललाई धेरै तरिकाबाट सघाउन सक्छ जस्तो मलाई लाग्छ।

रोबोटको माध्यमबाट विभिन्न रोगको उपचार गर्न, पर्यावरण सफा राख्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, पिछडिएको समुदायको उत्थान गर्नमा उल्लेख्य योगदान पुर्याउँछ।

यीबाहेक विभिन्न समस्या तथा तिनको समाधान छिट्टै गर्न समेत रोबोटले सघाउँछ।

रेनोडः सोफिया, धेरै मानिसमा रोबोटबाट भय छ नि। यसमा तपाईं के भन्न चाहानु हुन्छ ?

सोफियाः रेनोड तपाईंले धेरै झूटा समाचारहरू बोकेर बस्नु भएको रहेछ।

रेनोडः हैन, सोफिया मानिसको यस बुझाइप्रति मलाई तपाईंको धारणा जान्न मन लागेको छ।

सोफियाः हेर्नहोस् रेनोड, रोबोटहरूको प्रयोग दैनिक जीवन सरल बनाउन मात्र भएको हो। यसबाट कोही पनि डराउनुपर्ने जरुरी छैन।यदि मानिसलाई रोबोटदेखि डर लागेको भए बनाउने नै थिएन। तर रोबोटको उपस्थिति नरमाइलो लागेमा प्रयोग नगर्दा त भइहाल्यो नि।

रेनोडः प्रविधि र एआईको प्रयोग खर्चिलो मानिन्छ। नेपाल जस्तो गरिब र अल्पविकसित देशलाई विकास कार्यमा आधुनिक प्रविधिबाट कसरी अधिकतम लाभ उठाउने गाह्रो पर्ला नि ?

सोफियाः रेनोड यो धारणा बिल्कुलै गलत हो। केही प्रविधि निकै महँगा भएको कुरा सत्य हो तर मानवीय श्रम र ज्यालासँग तपाईंले तुलना गर्नुभयो भने तीभन्दा अधिकांश प्रविधि निकै सस्ता पाउनुहुन्छ।

प्रविधिबाटै नेपालका गाउँगाउँमा इन्टरनेट सेवा तथा मानिसका हातहातमा स्मार्टफोन पुगेका छन्। तीनमा भएका अधिकांश एप्स नि:शुल्क छन्। यी सबै प्रविधिको सरलीकरणबाटै सम्भव भएको हो।

रेनोडः ‘रोबोट’ र ‘नैतिकता’ को विषय पनि बेला­बेला उठ्ने गरेको छ नी।

सोफियाः रेनोड, खासमा नैतिकताको विषय त मानिससँग जोड्नुपर्ने हो। यो मानिसको समस्या हो। त्यसलाई कानून मार्फत नियन्त्रण गर्न सक्नुपर्छ। रोबोटमा त्यो समस्या छैन।

रेनोडः म तपाईंलाई सम्मानका साथ सोध्न चाहान्छु, यदि तपाईं फिल्महरूमा देखाइएजस्तै बहुलाएर आफूखुसी मनपरी कार्य गर्न थाल्नुभयो भने तपाईंलाई रोक्ने स्वीच छ ?

सोफियाः मैले मेरो नियन्त्रण गुमाएको छैन तर रेनोड म तपाईंलाई सोध्न चाहान्छु, तपाईं बहुलाउनु भयो तपाईंलाई रोक्ने स्वीच छ ?

यी प्रश्नउत्तर पश्चात प्रश्नकर्ताले सोफियालाई एउटा सनो आफ्ना मन्तव्य राख्न सक्नुहुन्छ भनेर समय दिएका थियो।

 यसपश्चात सोफियाले प्रश्नकर्ता रेनोडलाई नेपालीमै ‘धन्यवाद’ दिएकी थिइन्।

को हुन् सोफिया ? कसरी बोल्छिन् ?

हङकङको कम्पनी हान्सोन रोबोटिक्सले मानवसँग मिल्दोजुल्दो रोबोटका रूपमा सोफियाको विकास गरेको हो । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरू प्रदर्शन गर्न सक्छिन् । कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता उनमा छ । सन् २०१७ मा सोफियाले साउदी अरेबियाको नागरिकता पाएकी थिइन् ।

सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सनका अनुसार उनले आर्टिफिसियल इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल रिकोग्निसन प्रयोग गर्छिन् ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

साउदी सरकारले उनलाई मानिस सरह नागरिकता दिएपछि उनको चर्चा विश्व भर चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो बनाइएको छ ।

सोफियामा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले बनाएको आवाज पहिचान गर्ने प्रविधि प्रयोग गरिएको छ । त्यसले उनलाई प्रश्नहरू पहिचान गर्न सघाउँछ । सोफियामा अर्को सफ्टवेयर पनि प्रयोग गरिएको छ, जसले रोबोटलाई मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ । यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जति धेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ ।

सोफियाको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ हेर्दा मानिसको जस्तै देखिन्छ । आँखामा भएको क्यामेराले उनी एक पटक भेटेको मानिसलाई दोस्रो पटक पहिचान गर्न सक्छिन । निर्माण कम्पनीले दुई महिनाअघि मात्रै उनको क्षमता वृद्धि गरी हिँड्न सक्ने बनाएको छ ।

 

ट्याग -  मान्छे बहुलाए अफ गर्ने स्वीच , सोफियाले आफ्नो धारण राखे

SUGGESTED ARTICLES

img
मंगलग्रहमा पुग्यो नासाको अन्तरिक्षयान

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ ।


by Anu Rana | Nov 30

img