mobile

राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुदै

By Anu Rana on Apr 16,2018 - 15:50

नेपालमै पहिलो पटक देशव्यापी रूपमा वैशाख २ गते आइतबारदेखि राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरूले मुलुकभरका ७७ वटै जिल्लाहरूमा एकैपटक गणना सुरु गर्ने भएको हो ।

आर्थिक गणनाको मुख्य उद्देश्य देशमा भएका सम्पूर्ण व्यवसाय नछुटाई गरिने गणना हो । किनकि साना वा ठूला व्यवसायले अर्थतन्त्रको सूक्ष्मदेखि बृहत् स्तरसम्म त्यत्तिकै प्रभाव पारेको हुन्छ । ती आर्थिक क्रियाकलापले देशको आर्थिक विकास र आर्थिक वृद्धिदरमा योगदान पुर्‍याएका हुन्छन् । साथै यसले उद्योगहरूको योगदानको कदर गर्न सहयोग हुनेछ ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले सङ्घ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज वैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरूको कुल सङ्ख्या स्थिति समन्धीको तथ्याङ्क आदि प्राप्त हुने बताउनुभयो ।

विभागले अहिले हरेक १०–१० वर्षमा जनगणना र कृषिगणना गर्दै आएको छ । त्यस्तै, ५–५ वर्षमा औद्योगिक क्षेत्रको गणना गर्दै आएको छ । यस्ता गणनाले मात्र देशको दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न आवश्यक तथ्यांक आपूूर्ति हुन नसकेको भन्दै विभागले आर्थिक गणना सुरु गर्न लागेको हो ।

तथ्याङ्क सङ्कलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालित हुने कार्यक्रममा जनाइयो । तथ्याङ्क सङ्कलनपछि यसको प्रशोधन, सार्वजनिकीकरणलगायतका पाँंच वर्षे यो योजनाका लागि झन्डै ४० देखि ५० करोड खर्च हुने कार्यक्रममा बताइयो । जिल्ला आर्थिक गणना कार्यालय काठमाडौँका आर्थिक गणना अधिकृत एवं निर्देशक रामबन्धु रेग्मीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा भर्खरै सुरु हुन लागेको आर्थिक गणना अन्य केही राष्ट्रभन्दा पछाडि नै  परेको हो, त्यसैले आब सुरुवात हुँदैछ । भने सार्क राष्ट्रमध्ये भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानमा आर्थिक गणनाको थालनी भइसकेको छ । भारतमा आर्थिक गणनाको सुरुआत सन् १९७७ मै भएको थियो । त्यहाँ आजसम्म छैटौंपटक आर्थिक गणना भइसकेको छ । उक्त गणनामा कृषि तथा गैरकृषि क्षेत्रको योगदानबारे गणना गरिएको थियो । गैरकृषि क्षेत्रअन्तर्गत साना, घरेलु उद्योग तथा अन्य उद्योगहरूको स्थापना र त्यसमा संलग्न रोजगारको अवस्था महिला उद्यमशीलतासम्बन्धी ह्यान्डिक्राफ्टसम्बन्धी विषयबारे छन् ।

केन्द्रीय तथ्यांक विभागले यस आर्थिक गणनामा कृषिअन्तर्गत मत्स्यपालन, वनसम्बन्धी उद्योगहरूलाई समावेश नगरिने प्रस्ताव छ । तर पनि नेपालमा गरिने पहिलो आर्थिक गणना हुनाले यस आर्थिक गणनाको आर्थिक पक्षका सम्पूर्ण क्षेत्रहरू समावेश गर्नु नितान्त आवश्यक छ ।

 यस गणनाले देशको आर्थिक अवस्थाको सत्यतथ्य ज्ञान दिनुका साथै सम्पूर्ण आर्थिक क्षेत्रको वृद्धिदर समेत स्पष्ट पार्नेछ । गणनामा महिला र पुरुषले गरेको योगदानलाई स्पष्ट रूपमा समेट्नसमेत आवश्यक छ । यही गणनाका आधारमा देशले आर्थिक नीति तथा योजना निर्माण र कार्यान्वयन क्षेत्रमा जटिल भूमिका खेल्नेछ । अन्त्यमा आर्थिक गणनाको सुरुआतको सँगसँगै देशको आर्थिक पक्षको समेत फड्को मार्न सजिलो हुनेछ । आशा एवं विश्वास छ- यस आर्थिक गणनाले देशको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो भूमिका खेल्नेछ ।

कस्ता विवरण गणनामा समेटिन्छ

राष्ट्रिय योजना आयोगले १ चैत २०७४ मा राष्ट्रिय आर्थिक गणना २०७५ को आदेश, २०७४ राजपत्रमा प्रकाशित गरेको छ । आदेशअनुसार झन्डै तीन दर्जन प्रश्नको उत्तर उत्तरदाताले भर्नुपर्नेछ । यसमा आर्थिक क्रियाकलापको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा–उपशाखाको स्थिति, मुख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, पुँजी लगानी, ऋणमा पहुँचजस्ता विवरण समेटिएका छन् । संकलित विवरण गोप्य रहने र केवल सामूहिक तथ्यांकीय प्रयोजनमा मात्र उपयोग गर्ने विभागले जानकारी गराएको छ ।

आर्थिक गणनाले समेट्ने क्षेत्र कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बिमासम्बन्धी क्रियाकलाप, घरजग्गा कारोबार, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप, कला मनोरञ्जन तथा मनोविनोदसम्बन्धी क्रियाकलाप र अन्य सेवाहरू आर्थिक गणनामा समेटिने जानकारी विभागले जनाएको छ ।"

 

ट्याग -  आर्थिक गणनाले समेट्ने क्षेत्र कृषि , राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुदै

SUGGESTED ARTICLES

img
सशस्त्र प्रहरी बलको गुल्म स्थापना

नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म हेडक्वाटरको नं १९ कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने भएको छ ।


by RSS | Today, 11:23 AM

img