mobile

भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि जांच हुदै

By Anu Rana on Apr 22,2018 - 16:05

झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । भद्रपुर र जनकपुर एयरपोर्टमा पनि रात्रिकालीन सेवा सञ्चालन हुने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी दुई एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ । ‘रात्रकालीन उडानका लागि आवश्यक तयारी भइरहेको छ, सात महिनाभित्र उडान सुरु गर्छौं,’ क्यान महानिर्देशक सन्जीव गौतमले भने, ‘रनवे लाइट खरिदका लागि बजेट विनियोजन गरी ग्लोबल टेन्डरको प्रक्रियामा छौँ ।’  

रात्रीकालीन उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए। उहाँका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’ कार्यविधि तयार भएको छ । अहिले विमानस्थलमा पाँच हजार मिटरबाट विमान अवतरण र उडान भइरहेको छ ।

प्रदेश १ मा झापाको भद्रपुर र प्रदेश २ को जनकपुरमा रहेका एयरपोर्टमा रात्रिकालीन सेवा तयार भएर प्रमाणीकरणसमेत भइसकेको क्यानका महानिर्देशक गौतमले जानकारी दिए । झापाको भद्रपुर एयरपोर्टको डिजाइन सकिइसकेको र जनकपुर एयरपोर्टको डिजाइन भइरहेकाले दुवै टेण्डर प्रक्रियामा भने एकैपटक जाने उनको भनाइ छ ।

आन्तरिक एवम् बाह्य पर्यटकको चापलाई दृष्टिगत गरी एकै पटक दुई एयरपोर्टमा रात्रिकालीन उडान गर्न लागिएको क्यानको भनाइ छ । यसबाट एयर ट्राफिक जाम कम हुने र यात्रुलाई पनि सहज तरिकाले यात्रा गर्न पाउने उनले बताए । ग्लोबल टेन्डरमा ढिलाइ नभए कात्तिकभित्रमा दुवै एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गरिसक्ने तयारीका साथ काम अगाडि बढाइरहेको उनको भनाइ छ ।

आइएफआर प्रविधिपछि १७ सय मिटरबाट अवतरण र उडान गर्न सकिने कार्यालयले जनाएको छ । तीन महिनाभित्र काम सम्पन्न गरेर आगामी दशैँसम्ममा रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको प्रमुख चुडालले बताउनुभयो । रात्रि उडानका लागि बुद्ध एयरले परीक्षण उडान गरिसकेको छ ।

’दुवै एयरपोर्टमा रात्रिकालीन उडान गर्ने भएपछि त्यस क्षेत्रको पर्यटन विकासमा पनि थप टेवा पुग्छ,’ होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले भने, ‘धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने जनकपुरमा रात्रिकालीन उडानले होटल व्यवसायलाई ठूलो राहत पुग्छ ।’ यस्तै पूर्वी क्षेत्रको झापामा रहेको भद्रपुर एयरपोर्टले पनि त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यसअघि प्रदेश ७ मा रहेको धनगढी एयरपोर्टले रात्रिकालीन उडान सुरु गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एयर ट्राफिक जाम घटाउन वैकल्पिक उपाय खोज्ने बताएका थिए । मन्त्री अधिकारीकै अगुवाइमा सम्भव भएका र यात्रुको चाप बढी भएका एयरपोर्टहरुमा रात्रिकालीन उडान गर्ने गरी काम अघि बढाइएको क्यानको भनाइ छ ।

 

ट्याग -  भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे , सात महिनाभित्र उडान सुरु

SUGGESTED ARTICLES

img
व्यवसायी महासंघको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ


by RSS | Aug 15

img