mobile

एमाले—माओवादी केन्द्र एकता घोषणाको तयारी

By RSS on May 17,2018 - 11:16

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । 

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ । 

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो । 

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन आज पार्टी एकताको ऐतिहासिक घोषणा हुन लागेकामा दुवै दलका कार्यकर्तामा उत्साह देखिएको छ । 

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ । 

एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने लगभग सहमति भएको छ । 

गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए । 
––– 

ट्याग -  एमाले माओवादी , एकता घोषणा ,

SUGGESTED ARTICLES

img
यसै वर्ष रोल्पाका सबै घर उज्यालिन्छ : मन्त्री पुन

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गरेका छाँै मन्त्री पुनले भन्नुभयो ।


by RSS | Jan 18

img