mobile

आरोहण रोयल्टी र सफाइ शुल्कबाट ४५ करोड ५८ लाख राजस्व 

By Anu Rana on May 22,2018 - 08:22

सगरमाथालगायत अन्य हिमाल आरोहणबाट मात्र यस वर्ष ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न २९ वटा हिमाल आरोहणका लागि उठाइएको रोयल्टी (आरोहण अनुमतिपत्र शुल्क) र फोहोर सफाइ शुल्क गरी संकलित कुल राजस्व रकम भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमय दरअनुसार ३९ लाख ६१ हजार ५० अमेरिकी डलरको प्रतिडलर १०८ रुपैयाँका दरले हिमाल आरोहणबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको हो । विभागले अहिलेसम्म सरकारले आरोहणका लागि खुला गरेका ६ हजार ५ सय मिटरभन्दा धेरै उचाइ भएका सगरमाथासहित विभिन्न हिमालबाट राजस्व संकलन गर्दै आएको छ ।

६ हजार ५ सय मिटरभन्दा कम उचाइ भएका ३३ वटा विभिन्न हिमालको आरोहण शुल्क उठाउने र त्यसको उचित व्यवस्थापन एवं प्रवद्र्धन गर्ने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) लाई प्रदान गरिएको छ । अहिलेसम्म मुलुकभर आरोहण खुला भएका सम्पूर्ण हिमाल व्यवस्थापन र नियमन गर्दै आएको पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि स्वदेशी स्वदेशी र विदेशी आरोहीहरूले बुझाएको आरोहण रोयल्टी र हिमाल सफाइ शुल्कबाट कुल ४५ करोड ५८ लाख १९ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागबाट आरोहण अनुमति लिनेमध्ये यस वर्ष भारत, चीन, अमेरिका, बेलायत, थाइल्यान्ड, म्यानमार, नर्वे, रसिया, पोल्यान्ड, स्विट्जरल्यान्ड, अस्ट्रेलियालगायत मुलुकका आरोही बढी छन् । अहिलेको वसन्त ऋतुमा आरोहणको तयारीमा रहेका आरोहीहरूमध्ये सबैभन्दा धेरै सगरमाथामा ३८, ल्होत्सेमा १०, कञ्चनजंगामा ५, आमादब्लममा ६ वटा आरोहण दल रहेका छन् भने अन्य हिमालमा एक देखि तीन–चार दल मात्रै रहेको विभागले जनाएको छ ।

सगरमाथा आरोहण गर्ने विदेशी आरोहीले प्रतिव्यक्ति ११ हजार डलर र नेपालीले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ आरोहण दस्तुर शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।  विभागका अनुसार हिमाल आरोहण दस्तुर समयानुसार फरक रहने गर्छ । वसन्त ऋतुलगायत अन्य मौसममा पनि स्वदेशी तथा विदेशी आरोहीहरूले सोही समयको दरअनुसार आरोहण अनुमति शुल्क बुझाएर जाने गरेका छन् । अन्य हिमालको दस्तुर भने उचाइ र अवस्थितिका आधारमा घटीबढी हुनेछ । यसैगरी, नेपाली आरोहीको दलका सदस्य समूहले दस्तुरमा केही सहुलियत पाएको विभागले जनाएको छ ।

सन् २०१६ मा कुल ९८ दलका ७४० जनाले आरोहण अनुमति लिएका थिए । यसैगरी, सन् २०१७ मा १०८ दलका ८३४ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका थिए । जसमध्ये सन् २०१६ मा ३८ दलका ३१८ जनाले र सन् २०१७ मा ४४ दलका ३६६ आरोहीले सगरमाथा आरोहण गरेको विभागले जानकारी दिएको छ ।

 

ट्याग -  विदेशी आरोहीले प्रतिव्यक्ति ११ हजार डलर , आरोहण रोयल्टी र सफाइ शुल्कबाट ४५ करोड ५८ लाख राजस्व 

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img