mobile

व्यापार घाटा १० महिनामै ९ खर्ब  

By Anu Rana on Jun 12,2018 - 10:16

आयात उच्च र निराशाजनक निर्यातले चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरकेको चालु आव ०७४/७५ को १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार मुलुकको व्यापार घाटा गत वर्षको सोही अवधिको भन्दा २२ .९ प्रतिशतले बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष ०७३/७४ को कुल व्यापार घाटा नौ खर्ब १७ अर्ब ६ करोड थियो।

आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात् ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । निर्यात वृद्धिदर ९ दशमलव ३४ प्रतिशत मात्रै छ भने आयात २१ दशमलव ७१ प्रतिशत छ । यो तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासहरूले सार्थकता पाउन सकेका छैनन् भने मुलुक आयातमा झन् बढी निर्भर रहेको देखिन्छ ।

मुलुकको व्यापार घाटा तीव्र रुपमा बढेको अवस्थामा निर्यातको अनुपात गत वर्षको भन्दा कम भएको छ । १० महिनामा कुल वस्तु निर्यात ९ .२ प्रतिशतले बढेर ६६ अर्ब ६५ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निर्यात ९ .८ प्रतिशतले बढेको थियो ।

निर्याततर्फ हेर्दा सबैभन्दा धेरै दुई छिमेकी देशमा भएको छ । भारततर्फको निर्यात ७ .१ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ८७ .४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा अलैंची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवालगायतका वस्तुको निर्यात बढेको छ भने जिआई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिनालगायतका वस्तुहरुको निर्यात घटेको छ।

यस्तै वस्तु आयात २१ .९ प्रतिशतले बढेर ९ खर्ब ८५ अर्ब ८३ करोड पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आयात ३४ .९ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २३ .४ प्रतिशत, चीनबाट भएको आयात २२ .३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ .२ प्रतिशतले बढेको छ। 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एमएस विलेटलगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, सानो अलैँची, जिङ्क ईनगोटलगायतका वस्तुहरुको आयात घटेको छ।

वैदेशिक रोजगारीमा विश्वका विभिन्न मुलुकमा जाने युवाको संख्या यस अवधिमा घटेको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) यस अवधिमा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ .९ प्रतिशतले घटेको थियो।

चालु आवको १० महिनामा चालु खाताको घाटा पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको १० महिनामा चालु खाता सात अर्ब ५७ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा उक्त घाटा उल्लेख्य विस्तार भई एक सय ९१ अर्ब २ करोड पुगेको छ । यस अवधिमा आयात उल्लेख रहेकाले चालु आतामा उच्च घाटा भएको राष्ट्र बैंकले जनाएको छ । फलस्वरुप, अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर यस अवधिमा १८ अर्ब ९३ करोडले घाटामा रहेको छ ।

चालु आवको १० महिनामा मुलुकमा वैदेशिक लगानीमा पनि वृद्धि भएको छ । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ६१ करोड थियो ।मुद्रास्फीतिमा चाप पर्ने संकेतका बाबजुद केही उपभोग्य वस्तु्को मूल्यमा भएको गिरावटका कारण वैशाखसम्म उपभोक्ता मुद्रास्फीति गत महिनाको ५ .३ प्रशितबाट घटेर ४ .१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

ट्याग -  व्यापार घाटा १० महिनामै ९ खर्ब   , १० महिनामा मुलुकमा वैदेशिक लगानीमा पनि वृद्धि

SUGGESTED ARTICLES

img
च्याङ्ग्रा महँगियो

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 


by RSS | Oct 15

img