mobile

तरकारी फलाउँदै विद्यार्थी

By RSS on Jun 13,2018 - 10:47

आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् । किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो । पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले बताउनुभयो । “प्रयोगात्मक अभ्यासबाट विद्यार्थीमा सीप विकास गर्नु हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो, “यसबाट व्यावहारिक सिकाइ हासिल हुन्छ ।” विद्यालयले सानो उमेरबाहेकका सबै विद्यार्थीलाई तरकारी खेतीमा लगाउने गरेको छ । 

कृषि खेतीको सीप सिक्न पाउँदा विद्यार्थी पनि खुशी छन् । विद्यालयमा आर्जन गरेको ज्ञान, सीपलाई उनीहरुले घरमा प्रयाग गर्न थालेका छन् । विद्यालयले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेको प्रअ खनालले बताउनुभयो । दुईवटा टनेलमा गोलभेँडा, खुर्सानी, तिते करेलालगायतका तरकारी बाली लगाइएको छ । तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्दछन् । आवश्यक पर्दा शिक्षकले सहयोग गर्ने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रोशिका गौतमले बताउनुभयो । “किताबमा पढेको कृषिको ज्ञानलाई व्यवहारमा उतार्न पाएका छौँ,” उहाँले भन्नुभयो, “खुशी छौँ, सिकाइ प्रभावकारी बनेको छ ।” पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधोपचारबारे पनि विद्यार्थी जानकार भइसकेका छन् । विद्यार्थी फुर्सदमा पालैपालो तरकारी बारीमा पुग्ने र काम गर्ने गर्छन् । तरकारी बालीलाई चाहिने मल, थाँक्रा, पानी विद्यार्थी आफैँले जोहो गर्ने गरेका छन् । 

किताबमा पढाइ हुने कृषि शिक्षालाई प्रयोगात्मकरुपमै सिकाउन पाउँदा शिक्षक पनि खुशी छन् । विद्यार्थीको सिकाइमा गुणात्मक परिवर्तन आएको शिक्षक एवं लघु कृषि अभ्यास केन्द्रका संयोजक मधुसुदन रेग्मीले बताउनुभयो । “भविष्यमा व्यावसायिक कृषिमा लाग्न विद्यार्थीलाई प्रेरित गरेको छ,” उहाँले भन्नुभयो, “शिक्षण सिकाइ फलदायी बनेको छ ।” तरकारी खेतीले विद्यार्थीलाई श्रमको महत्व र मूल्य चिनाउन पनि सघाउ पु¥याएको छ । विद्यालयले कृषि खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छ । अभिभावक र समुदायलाई कृषि शिक्षाको महत्व जगाउने उद्देश्य रहेको विद्यालयले जनाएको छ । ‘पेशा व्यवसाय’ सम्बन्धी सैद्धान्तिक पाठ्यक्रममा आधारित रही व्यावहारिक शिक्षा दिन तरकारी खेती गरिएको प्रअ खनालले बताउनुभयो । थोपा सिँचाइको प्रयोग गरेर गरिएको तरकारी खेती पूर्णरुपमा जैविक (अर्गानिक) रहेको उहाँको भनाइ छ । (रासस) 

ट्याग -  तरकारी फलाउँदै

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img