mobile

विद्युत प्राधिकरण र तनहुँ हाइड्रो बीच खरिद बिक्री सम्झौता

By Anu Rana on Jul 03,2018 - 20:50

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेड बीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। प्राधिकरणले जलाशययुक्त आयोजनाको पीपीए गरेको यो पहिलो आयोजना हो। सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन शुरू हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी हुन्छ, सोही कायम रहने व्यवस्था गरिएको छ । आयोजनाले व्यापारिक उत्पादन शुरू गर्नुपर्ने मिति २०८० चैत ३० गते तोकिएको छ ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खा याम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश १२ .४० र ६ .०८ रुपैयाँमा खरिद गर्ने छ ।

साथै उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्था अनुसार मूल्यवृद्धिपश्चात (९७ औं महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खा याममा १५ .३८ र वर्षायाममा ७ .५४ रुपैयाँ कायम हुनेछ ।

व्यापारिक उत्पादन सुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिक रुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा उर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको सुख्खा र वर्षा यामको क्रमश १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ ।

यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खा यामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको उर्र्जाको ३५% भन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्धजलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था छ ।

प्राधिकरणले अर्ध जलाशययुक्त आयोजनाका लागि सुुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश १० .५५ र ४ .८० रुपैयाँ खरिद दर निर्धारण गरेको तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

प्राधिकरणले व्यापारिक उत्पादन सुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको ऊर्जा खरिद गर्नुपर्नेछ । साथै अतिरिक्त ऊर्जाको हकमा प्राधिकरणले जारी गरी माथि तोकिएको खरिद दरको ५० प्रतिशत दरमा खरिद गर्ने छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित हुने छ । आयोजनाको पूूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य संरचनाको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकारनेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

 

ट्याग -  विद्युत प्राधिकरण र तनहुँ हाइड्रो बीच खरिद बिक्री सम्झौता

SUGGESTED ARTICLES

img
आय आर्जनको लागि महिलालाई कर्जा वितरण

जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ । सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति महिलालाई रु ३० हजारदेखि एक लाखसम्म कर्जा वितरण गरिएको हो । गरीबी निवारण तथा सामुदायिक विकास प्रबद्र्धन कोषबाट सो रकम वितरण गरिएको हो । महिलाले सो रकम पशुपालन, विभिन्न


by RSS | Jul 15

img