mobile

सात हजार किमि प्रसारण लाइन निर्माणको गुरुयोजना  

By Anu Rana on Jul 03,2018 - 20:49

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री मन्त्री वर्षमान पुनले विद्युत प्रसारण लाईन निर्माण, विस्तार र विद्युत निर्यात गर्ने सम्वन्धी एउटा महत्वपूर्ण गुरुयोजना सार्वजनीक गरेका छन् । नले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध विद्युत प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण गुरुयोजना सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले तयार पारेको गुरुयोजनामा सन् २०४० सम्मका लागि तयार भएको हो । गुरुयोजना कार्यान्वयनका लागि ६ खर्ब रुपैयाँभन्दा बढी लागत पर्ने अनुमान छ ।

देशका विभिन्न नदी बेसिनमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ५ वटा क्षेत्र छुटयाउने प्रस्ताव गुरु योजनामा गरिएको छ । उच्च आर्थिक वृद्धिदरका लागि आवश्यक पर्ने विद्युत् मागको आधारमा गुरुयोजना तयार पारिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए ।

जल तथा ऊर्जा आयोगको सचिवालयले अघिल्लो वर्ष तयार पारेको एक प्रतिवेदनअनुसार ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर भए सन् २०३५ सम्ममा देशभर विद्युतको माग करिब १८ हजार मेगावाट पुग्नेछ । सोही रिपोर्टले आंकलन गरेको परिदृश्यमा रहेर प्रतिवेदन तयार पारिएको ज्ञवालीले बताए ।

गुरुयोजनामा २०४० सम्ममा नेपाललाई आन्तरिक खपतका लागि मात्रै १८ हजार मेगावाट विद्युत् आवश्यक पर्ने उल्लेख छ । यस्तै अन्य देशमा करिब १८ हजार मेगावाट विद्युत् निर्यात हुने आकलन गरिएको छ । उक्त अवधिसम्म ३८ हजार मेगावाट विद्युत् उत्पादन हुने आकलन छ । विद्युत उत्पादन तथा आवश्यक प्रसारण प्रणालीको लेखाजोखा गरेर उक्त गुरुयोजना तयार पारिएको हो ।

विद्युत उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य तय गर्दै नदी बेसिनका आधारमा पाँच ‘प्रसारण हव’ बनाउने लक्ष्य राखिएको छ ।

ऊर्जा उत्पादनमा लाग्न चाहने सरकारी, निजी क्षेत्रलाई समेत सो गुरुयोजनाले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास लिइएको छ । गुरुयोजनामा महाकाली नदी, पश्चिम सेती र कर्णाली करिडोर जोन–१, भेरी नदी करिडोर जोन–२, कालीगण्डकी र मस्र्याङ्दी करिडोर जोन–३, त्रिशूली–चिलिमे, खिम्ती, तामाकोसी करिडोर जोन–४ र कोसी, अरुण र काबेली कोरिडोर जोन–५ उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले आन्तरिक खपत तथा बाह्य निकासीका लागिसमेत मार्ग प्रशस्त गर्ने गरी प्रसारण संयन्त्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा भद्रगोल अवस्थामा प्रसारण लाइन निर्माण भए भन्ने गुनासो रहँदै आएको थियो । गुरुयोजना निर्माणपछि अब मूर्त खाका आएको छ । यसले सरकार तथा निजी क्षेत्रले समेत सहज रुपमा आयोजना निर्माणका लागि समेत मार्ग प्रशस्त भएको छ ।”

गुरुयोजनाअनुसार करीब आठ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ । त्यसमा २२० केभी क्षमताका दुई हजार १०० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । यस्तै ४०० केभीका पाँच हजार ८०० किलोमिटर लाइन विस्तार गरिनेछ । सो भन्दा बढी क्षमताका आवश्यक प्रणाली निर्माण गरिनेछ ।

यस्तै, सन् २०४० सम्म ४२ वटा ४०० केभी, ३८ वटा २२० केभी क्षमताका प्रसारण प्रणाली जोड्ने आधार स्टेशनसमेत निर्माण गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले योजनाबद्ध प्रसारण प्रणालीको विकासमा जोड दिइएको गुरुयोजनाले मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले गूरुयोजना ल्याए पनि निर्माणका क्रममा रहेका प्रसारण लाइन जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग तथा स्थानीयवासीको अवरोधका कारण अगाडि बढ्न सकेका छैनन् । उक्त समस्या कसरी समाधान गर्ने विषयमा भने गुरुयोजना मौन रहेको छ । तर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले अन्तर सरकारी निकायबीच समन्वय गरेर समस्याको समाधान गरिने विश्वास व्यक्त गर्नुभयो ।

 

ट्याग -  सात हजार किमि प्रसारण लाइन निर्माणको गुरुयोजना   ,

SUGGESTED ARTICLES

img
सिद्धार्थ इन्स्योरेन्स कम्पनी: मोटर बिमाको भरपर्दो गन्तव्य

मोटर बिमामा सरकारले तेस्रो पक्ष बिमालाई अनिवार्य गरिदिएको छ । अहिलेको परिवेशमा मोटरको चढ्नेको संख्या बढ्दै गएको हुनाले  देशमा हुने दुर्घटनाको क्रम पनि बढ्दै गएको पाइन्छ। त्यसैले आफ्नो सम्पत्तिको सुरक्षाका लागि मोटर बिमा आवश्यक पर्छ ।


by Anu Rana | Nov 14

img