mobile

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष दाहाल

By RSS on Sep 13,2018 - 14:06

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग-यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।” 

भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताउनुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेकोसमेत बताउनुभयो । सो अवसरमा भ्रमण दलका सदस्यले नेपालमा सशस्त्र द्वन्द्वको क्रममा हतियारको स्रोत, पूर्वजनमुक्ति सेनासँग भएको हतियारको अवस्था र व्यवस्थापन तथा शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए । टोलीले शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा समेत छलफल गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । (रासस)
 

ट्याग -  शान्ति प्रक्रिया

SUGGESTED ARTICLES

img
सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।” 


by RSS | Jan 16

img