mobile

दुई सय घर उच्च जोखिममा

By RSS on Sep 14,2018 - 13:18

कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् । गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय, बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् । म्याग्दी र र मुस्ताङको उपल्लो क्षेत्रमा परेको वर्षाका कारण गत बुधबारदेखि आएको बाढीका कारण कालीगण्डकी किनारतर्फका बस्ती जोखिममा परेका हुन् । नदी किनारमा रहेका घर उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा नरोकिएकाले कालीगण्डकीको बहाब नघट्दा कटान रोकिएको छैन । 

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल र तटबन्धसमेत भत्किएकाले बजार क्षेत्रतर्फको कटान बढ्दै गएको छ । अहिलेसम्म स्थानीय आमा समूहको सामुदायिक भवनमा सामान्य क्षति भएको भएपनि ठूलो क्षति भने भएको छैन । तर, कतिबेला बजारभित्रै कालीगण्डकी पस्ने हो भन्ने त्रास रहेको स्थानीय चित्रराज रेग्मीले गुनासो गर्नुभयो । नदीले कटान गर्दै जान थालेपछि बस्ती जोखिममा परेको वडाअध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिनुभयो । बाढीकै कारण बेनी–बगरफाँट–बाँसखर्क सडकसमेत अवरुद्ध बनेको छ । ग्रामीण सडक नदीले कटान गरेपछि अहिले त्यस क्षेत्रका बासिन्दालाई पैदलमार्फत आवातजावत गर्न समेत समस्या भएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय जलजला गाउँपालिकालाई क्षतिको विवरण सङ्कलन गर्न र जोखिममा रहेका परिवारको तथ्याङ्क सङ्कलन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले नदी किनारका बासिन्दालाई वर्षात र बाढी पहिरोको समयमा उच्च सतर्ककता अपनाउन सुझाव दिएको उल्लेख गर्नुभयो । (रासस)

ट्याग -  जोखिम

SUGGESTED ARTICLES

img
मृत्यु संस्कार छोट्याउँदै  

आफ्नो परिवारभित्रको सदस्यको मृत्युपश्चात् मृतकको परिवारजनले काजकिरिया गर्छन् । आआफ्नै जातीय परम्पराअनुसार काजकिरिया गर्ने परम्परा छ ।  मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राको लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।


by Anu Rana | Nov 19

img