mobile

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

By RSS on Nov 18,2018 - 14:20

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । विस २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो । काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताउनुभयो ।नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने र सो समयमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति विघटन हुने प्रावधान छ । 

काङ्ग्रेस बैठकले तीन महीनाको थप अवधिलाई पाँच महीना बनाई स्वतः विघटनको सङ्घारमा पुगेको नेविसङ्घको वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयवधि दिनेछ । यस सम्बन्धमा पार्टीमा सहमति जुट्ने प्रवक्ता शर्माले विश्वास व्यक्त गर्नुभयो । नेविसङ्घका बारेमा निर्णय लिन शनिबार बोलाइएको काङ्ग्रेस बैठकमा सहमति हुन नसकेकाले सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा नेविसङ्घका नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । यसअघि संस्थापन पक्ष नेविसङ्घको वर्तमान कार्यसमितिको म्याद थपेर महाधिवेशन गर्न दिने पक्षमा थियो भने संस्थापन इतर पक्षको भने वर्तमान कार्यसमिति भङ्ग गरेर महाधिवेशनका लागि तदर्थ समिति बनाउनुपर्ने माग थियो । आइतबारको बैठक अघि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले विधान परिमार्जनलगायत विषयमा छलफल गरेको थियो । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो । (रासस)

ट्याग -  विवाद

SUGGESTED ARTICLES

img
नेका नेता लामाद्वारा पाँच एम्बुलेन्स सहयोग

नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।


by RSS | Dec 10

img