mobile

जलविद्युत्को केन्द्र बन्दै अपि हिमाल गाउँपालिका

By RSS on Nov 19,2018 - 17:58

सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै गएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ । चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले १० मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजनाका उपकार्यकारी निर्देशक करनबहादुर चन्दका अनुसार सो क्षेत्रका दुई परिवारलाई जग्गाको मुआब्जा वितरण गरिएको छ । 

“सडक निर्माण हुने वित्तिक्कै उपकरण ढुवानी गरिनेछ,” उहाँले भन्नुभयो । निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरीगाड जलविद्युत् आयोजना निर्माणको लागि रु दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । यस्तै मङ्सिरभित्र अपि हिमाल गाउँपालिका–३ घट्टे खोलामा एक सय किलोवाट क्षमताको आयोजना निर्माण गरिँदैछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा सो आयोजना निर्र्माण गर्न लागिएको हो । आयोजना बनाउन शक्ति इञ्जिनीयरिङ प्रालिसँग रु तीन करोड ४२ लाखको सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दनसिंह धामीले बताउनुभयो । 

“वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु दुई करोड ८५ लाख सहयोग गर्नेछ,” उहाँले भन्नुभयो । गाउँपालिकाले रु एक करोड ९० लाख उपलब्ध गराउनेछ । “रु चालीस लाख भुक्तानी गरिसकेका छौँ,” गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले भन्नुभयो । अहिले खम्बा र तार खरीदको काम भइरहेको छ । 

यस्तै अपि हिमाल गाउँपालिका– ३ कटेलीगाडमा १० किलोवाट क्षमताको आयोजना निर्माण थालिएको छ । सो आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु १९ लाख, गाउँपालिकाले रु पाँच लाख तथा अन्य रकम प्रदेश सांसद विकास कोषबाट खर्च गरिने विद्युत् उत्पादन समितिका अधयक्ष मदन कार्कीले बताउनुभयो । सो आयोजना निर्माण गर्न रु ५७ लाख खर्च हुने अनुमान गरिएको छ । 

यसैगरी अपि हिमाल गाउँपालिका–६ मज्जेखोलामा एक सय किलोवाट विजुली निकाल्न बोलपत्र आह्वान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष धनसिंह धामीले बताउनुभयो । “गाउँपालिकाले रु एक करोड ७२ लाख सहयोग गर्ने आश्वासन दिएको छ,” उहाँले भन्नुभयो । 

चमेलिया नदीबाट ८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको क्षत्तिगाड जलविद्युत् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ । निजी क्षेत्रबाटै निर्माण गर्ने गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष मन्याल बताउनुहुन्छ । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । अपि हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै क्षत्तिगाड, मकरीगाड, छुमछुम गाड, मज्जेगाडलगायत खोलाबाट विद्युत् उत्पादन गर्न सकिने अत्याधिक सम्भावना छ । (रासस)

ट्याग -  जलविद्युत्को केन्द्र

SUGGESTED ARTICLES

img
सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात


by RSS | Dec 14

img