mobile

‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै

By RSS on Nov 23,2018 - 13:00

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । 

आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ ।
ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ, भने एपिएफ एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । यस्तै आजै हुने अर्काे खेलमा दिउँसो २.३० बजे हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तीन अङ्कका लागि भिड्नेछन् । दुबै टिमले लिगमा एक जीत र एक बराबरी खेलेका छन् र समान चार÷चार अङ्क जोड्दै क्रमशः लिगको सातौँ र आठौँ स्थानमा छन् । 

घरेलु फुटबलमा पुलिस क्लब बलियो टोली हो । युवा खेलाडीको आगमनसँगै प्रभावशाली प्रदर्शन गर्दै आएको पुलिसले यसपटक लिग उपाधिलाई लक्ष्य बनाएको छ । पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसको लक्ष्य उपाधि भएको बताइसकेका छन् । यता राष्ट्रिय टोलीका मुख्य खेलाडी नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विकेथ कुथु, भरत खवासलगायत खेलाडीले भरिएको आर्मीले समेत घरेलु फुटबलमा आफ्नो वर्चस्व स्थापित गर्ने दाउमा छ । अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन । पुलिसले भने छ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ । सङ्कटा भने अपराजित टोली हो । यसअघिका दुई खेलमा जीत निकालको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ । मछिन्द्र एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।  (रासस)

ट्याग -  ‘ए’ डिभिजन लिग

SUGGESTED ARTICLES

img
एभरेष्ट म्याराथन दोस्रो सातामा

हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ । यही जेठ १५ गते हुने १७औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ ।


by RSS | May 16

img