mobile

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा खतिवडा

By RSS on Dec 11,2018 - 17:49

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । 

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सुसूचित गर्नुपर्ने अवस्था छ ।” 

देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुने क्रममा बच्चाको दाँत निस्कने क्रममा ज्वरो आएको जस्तो अवस्था रहेको मन्त्री खतिवडाको भनाइ थियो । उत्पादन क्षेत्रमा लगानी बढाएर राष्ट्रिय पूँजी निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको उहाँले उल्लेख गर्नुभयो । कृषि, ऊर्जालगायत उत्पादन क्षेत्रमा अहिले कर्जाको माग बढिरहेको बैंकले शेयर बजारमा चाहे जति लगानी गर्न सक्ने अवस्था कमजोर रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले तरलताको अभावले पनि शेयर बजारलाई केही हदसम्म तलमाथि पारेको हुनसक्छ भन्नुभयो । 

पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले सरकारले बचतलाई वृद्धि गर्ने र शेयर बजारका लगानीकर्ताले पनि धैर्य गर्नुपर्ने अवस्था देखिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्र अहिलेसम्म पनि उत्पादनमुखी हुन सकेको छैन, राज्य बढी जिम्मेवार हुनुपर्छ, पूँजी बजारमा देखिएका समस्या सहकार्य, वार्ता र संवादका आधारमा सम्बोधन गर्नुपर्छ ।” 

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको जगबाट पूँजी बजार डग्मगाउने स्थिति पुग्न लागेको हो भने विशेष व्यवस्था गरेर प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पूर्वअर्थमन्त्री एवं समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शेयर बजार स्वस्थ्य र लगानीकर्तालाई सुरक्षित एवं उत्साही बनाउन आवश्यक रहेको विचार प्रकट गर्नुभयो । (रासस)

ट्याग -  शेयर लगानीकर्ता

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img