mobile

पहिलो पटक हाइकु प्रदर्शनी

By RSS on Dec 28,2018 - 12:35

सामान्यतः साहित्यिक रचनाहरु लेखन वा वाचन गरी स्रोता, दर्शक वा पाठकमाझ प्रस्तुत गरिन्छ । तर अब साहित्यलाई प्रदर्शनी पनि गरिने भएको छ । छोटो साहित्यको रूपमा परिचित हाइकु विधालाई प्रदर्शनी गरी आम जनसमुदायमा परिचित गराउन नेपालमा पहिलो पटक पश्चिम नवलपरासीमा नौलो अभ्यास गर्न लागिएको हो । 

‘कवि खगेन्द्र बस्यालको एकल हाइकु रचना प्रदर्शनी’ कार्यक्रम बर्दघाट नगरपालिका–१२ भटौलिया बजारमा पुस १४ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा हुन लागेको हो । नेपाल रेडक्रस सोसाइटी बुद्धमङ्गल उपशाखा, मझेरी आमा समूह र सिर्जनशील आमा समूह जहदाको सहआयोजना रहने सो कार्यक्रममा कवि बस्यालका हाइकुलाई प्लेकार्डमार्फत प्रदर्शन गरिने पुस्तकालयका अध्यक्ष सुरज केसीले जानकारी दिनुभयो । कार्यक्रममा नवलपरासी, रुपन्देही, चितवनलगायतका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, आमा समूह, विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष ५०० र अप्रत्यक्ष रुपमा एक लाख मानिसले हाइकुको बारेमा बुझ्ने र जानकारी लिन पाउने उहाँले बताउनुभयो । 

स्थानीय मिडिया तथा सामाजिक सञ्जालबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ । यसबाट साहित्यप्रति थप रुचि जाग्ने र हाइकुलाई परिचित गराई नेपाली साहित्यमा स्थापित गराउन थप मद्दत पुग्ने आयोजकको विश्वास छ । हाइकुको माध्यमबाट देशको परिस्थितिलाई झक्झक्याउने भएकाले कवि बस्यालको कलालाई उजागर गर्न समेत प्रदर्शनीले टेवा पुग्ने कार्यक्रम संयोजक साहित्यकार दीपक बरालले बताउनुभयो । तीन हरफे र सत्र अक्षरको संरचनामा लेखिने हाइकु विधा अन्य विधाभन्दा छोटो हुने भएकाले नेपालमा नयाँ प्रयोग गर्न लागिएको उहाँको भनाइ छ । हाल रुपन्देही निवासी बस्यालले नवलपरासी, रुपन्देही, पाल्पा, स्याङ्जालगायतका जिल्लामा पुगेर हाइकु सुनाउने गर्नुभएको छ । प्रकृतिप्रेम, देशप्रेम अनि राजनीति र विविधता पाइने उहाँको हाइकुले नेपाली साहित्यमा छुट्टै स्थान बनाएको छ । (रासस)

ट्याग -  हाइकु प्रदर्शनी

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img