mobile

६ महिनामा यात्रुबाट ३५ किलो सुन जफत

By Anu Rana on Jan 15,2019 - 15:07

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तोकिएभन्दा बढी परिमाणमा ल्याइएको ३५ केजी सुन बरामद गरेको छ । विदेशबाट आएका यात्रुहरुले तोकिएको भन्दा बढी सुन ल्याएपछि ६ महिनाभित्रै ३५ केजी सुन बरामद भएको प्रमुख भन्सार अधिकृत चुँडाराज सापकोटाले जानकारी दिए । हाल विदेशबाट आउने नेपालीले अधिकतम् ५० ग्रामसम्मको गहना लगाएर वा लिएर आउन पाउँछन् भने सय ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्छन् । यो नियम मिच्दै विमानस्थलमा तोकिएभन्दा बढी परिमाणमा सुन लिएर आउने यात्रुको गहना र सुन विमानस्थल भन्सार कार्यालयले जफत गर्ने गरेको छ ।

जसमा विमानस्थल भन्सारका प्रमुखले बिगोबापत तिर्नुपर्ने रकमको निरुपण गर्छन् । सो बिगो रकमसिहत जफत भएको सुनलाई सरकारको रावश्व खातामा जम्मा गर्ने गरिएको छ ।

‘परिमाणभन्दा बढी सुन ल्याएपछि जफत गरेर सोही मूल्य बराबरको बिगो पनि तिराइन्छ,’ सापकोटाले भने,’यसलाई अपराध नै मानेर भन्सारबाटै न्यायिक निरुपण गरिन्छ ।’ यसरी गरिने न्यायिक निरुपण चित्त नबुझेकाहरु राजश्व न्यायधीकरणमा मुद्दा लिएर जान सक्छन् ।

५० ग्रामसम्म काँचो सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ । ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ । १०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

२ हजार बोतल रक्सी समातियो

यसैगरी सरकारले विमानस्थलमा पछिल्ला दिनमा भन्सार जाँचमा निकै कडाइ गरेपछि करिब ८ दिनको बीचमै २ हजार बोतल रक्सी बरामद भएको छ । सरकारले विदेशबाट बढीमा एक लिटर वा एक बोतल रक्सी लिएर आउन सकिने गरी झिटीगुन्टा आदेश जारी गरेको छ ।

तर, विदशेबाट फर्किनेहरुले ‘ड्युटी फ्रि’ सुविधाको फाइदा उठाउँदै धेरै परिमाणमा रक्सी ल्याउने गरेका थिए । तर, त्यसले राजश्व उठ्तीमा प्रभाव परेको निश्कर्ष निकाल्दै सरकारले रक्सीमा पनि निकै कडाइ गरेको छ ।

जसको प्रभाव स्वरुप करिब हप्ता दिनमै २ हजार बोतल रक्सी बरामद भएको सापकोटाले जानकारी दिए । ‘पछिल्लो दिनमा जफत हुने क्रम घटेको छ,’ सापकोटाले भने,’तोकिएभन्दा बढी ल्याउनेलाई कुनै छुट दिएका छैनौं ।’

ट्याग -  ६ महिनामा यात्रुबाटै ३५ किलो सुन जफत , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

LATEST NEWS

SUGGESTED ARTICLES

img