mobile

आलेख : धुलाम्मे सडकले गाउँ प्रदूषित

By RSS on Jan 18,2019 - 14:09

गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलोको प्रदूषण फैलिएको हो ।

धुलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हुँदा आवतजावतका लागि सजिलो भए पनि सडकको धुलोले आसपासका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ । सडकका धुलो अहिले सडक आसपासका रुख, बिरुवा, बालीनाली, घर, बजार र पानीका मुहानसम्म पनि पुगेको छ ।

जिल्लामा गत असोजयता धेरै वर्षा भएको छैन । वर्षा नभएपछि सडकमा धुलोको मात्रा घट्न सकेन । सडक निर्माणसँगै गाउँका गोरेटा बाटो मासिएका छन् । त्यसैले हाटबजार गर्ने गाउँले, विद्यार्थी र स्थानीयवासी आवतजावत गर्दा सडकबाटै पैदल हिँड्छन् तर, धुलो खान बाध्य छन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै ४३ वटै वडामा सडक पुगेको छ । निर्माणाधीन ती सडक सबै धुलाम्मे छन् । सवारी नै नगुड्ने सडकबाहेक दैनिक सवारी सञ्चालन भइरहेका म्याङलुङ्ग–वसन्तपुर, सिधुवा–शुक्रबारे, जिरिखिम्ती–मोराहाङ, म्याङलुङ्ग–संक्रान्ति, म्याङलुङ्ग–तमोर सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको पूरै शरीर धुलाम्मे हुने गरेको छ ।

यीमध्ये मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–सक्रान्ति–माझीटार सडक खण्डमा सबैभन्दा धेरै धुलो रहेको छ । सडक निर्माणका क्रममा ठूला सवारी साधन निरन्तर ओहोरदोहोर गरिरहँदा सडक धुलाम्मे बनेको हो । असोजयता जिल्लाका छ वटै स्थानीय तहका केन्द्रसम्म निरन्तर सवारी सञ्चालन भइरहेको छ । यसकारण पनि सबै सडक धुलाम्मे भएका यातायात व्यवसायी डिल्ली रेग्मी बताउनुहुन्छ । उहाँले भन्नुभयो – “सडक सबै कच्ची छन् । कच्ची सडकमा हिउँदमा धुलो उड्नु स्वाभाविक नै भयो ।”

ती सडकमा यात्रा गर्दा धुलोले यात्रु र चालकलाई पनि धुलाम्मे बनाउने गरेको छ । “सडक आउँदा के–के न होला भन्ने लागेको थियो, अहिले धुलोले घरै पुर्न लाग्या छ, घरमा कसैलाई सन्चो छैन,” म्याङलुङ्ग नगरपालिका–९, साब्लाका गोविन्द सुवेदीले भन्नुभयो । चार वर्षयता निर्माण भइरहेको मध्यपहाडी लोकमार्गले नाफा भन्दा बढी घाटा गरेको उहाँको बुझाइ छ ।

“गाडी चढेर त वर्षमा एक–दुई पटक गइन्छ, त्यति चाहीँ फाइदा छ,” उहाँ भन्नुभयो – “बाँकी अरु सबै घाटा मात्रै छन् ।” धुलोले गाउँका धेरै बिरामी परेका छन् । सुवेदीका अनुसार अहिले गाउँमा रुघाखोकी लाग्नु सामान्य हो । सडक छेऊमै रहेको बुढाथोकीको घरको छानो धुलोले सेताम्मे छ । घर वरिपरि लगाएका फलफूलका पात धुलोले भरिएका छन् । घरमा प्रयोग हुने खानेपानी, लत्ताकपडा लगायत अन्य कुराहरु केही पनि छैन, जो धुलोबाट अछुतो होस् ।

उहाँले भन्नुभयो – बिहान नुहायो, बेलुकै नुहाउनुपर्ने अवस्था हुन्छ । धुलोले टाउको सेतै ।” मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–सक्रान्ति–माझीटार खण्डका सडक छेऊका बस्तीमा धुलोका कारण प्रदूषण फैलिएको आठराई गाउँपालिका–४, इवाका डम्बर गुरुङले बताउनुभयो । “बाटो त बन्यो, फाइदा पनि छ,” उहाँले भन्नुभयो – “तर हिउँदको यो धुलोले गाउँमा धेरैलाई बिरामी बनाएको छ । तरकारी, फलफूल केही बनाएर खान नदिने भयो ।”

धुलोका कारण सुन्तला, नास्पाती, मेल, सडक छेऊको अलैँची लगायत बालीनाली मर्न थालेको उहाँले बताउनुभयो । “फूल लाग्न लागेका फलफूलमा आएर धुलो टाँसिएको हुन्छ, डाँठ, हाँगा कतै पनि अछुतो छैन, अनि त बोटै मार्ने रहेछ,” उहाँले सुनाउनुभयो । धुलोले विद्यालय जाने बालबालिकालाई पनि असर गरेको छ । गोरेटो बाटो मासिएपछि सडकबाटै हिँडेर जाने बालबालिकालाई धुलोले सताउने गरेको छ ।

धुलोले लुगा, कापी, किताब केही पनि बाँकी नराख्ने म्याङलुङ्ग नगरपालिका–९, साब्लास्थित नारायण माविका छात्र शम्शेर तामाङले बताउनुभयो । “घरबाट नुहाएर हिँड्यो, स्कुल पुग्दा धुलै–धुलो हुन्छ,” उहाँले भन्नुभयो – “सडकमा हिँड्दा मास्क नलगाई हिँडे दुई दिनमा थला परिन्छ ।” विद्यालयका धेरैजना विद्यार्थी रुघाखोकी जस्ता समस्याबाट ग्रसित भएका सो विद्यालयका शिक्षक शरणकुमार रिजालले बताउनुभयो ।

धुलोका कारण गाउँभर प्रदूषण फैलिएको फेदाप गाउँपालिका–२, ओयाक्जुङका वडाध्यक्ष गोविन्द मादेम्बा स्वीकार्नुहुन्छ । “सिङ्गो गाउँ नै धुलोबाट प्रदूषित छ, रुघाखोकी नलाग्ने थोरै मात्रै छन्,” उहाँले भन्नुभयो । धुलोले अलैँची, सुन्तला, कागती, रायो, तोरी लगायत बालीनाली, खानेपानीका मुहान र वायु प्रदूषित बनाएको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङस्थित स्वास्थ्य चौकीका इन्चार्ज धनराज राईले बताउनुभयो ।

“धुलोले गाउँमा रुघाखोकीका बिरामी बढेका छन्, पानी, हावा र खानेकुराको माध्यमबाट धुलाले मानव स्वास्थ्यमा असर गरिरहेको छ,” उहाँले भन्नुभयो । मध्यपहाडी लोकमार्गले मात्रै जिल्लाको पूर्वी आठराई गाउँपालिकाबाट फेदाप हुँदै म्याङलुङ्ग नगरपालिकाका करीब दश वटा वडालाई प्रभावित गरेको छ । लोकमार्गका अधिकाँश खण्डमा निर्माणको काम भइरहेकाले बढी धुलो उठेको छ ।

धुलोले वातावरण पूरै प्रदूषित भए पनि धुलो नियन्त्रणका लागि कसैले पहल गरेको छैन । जिल्लाको जिरिखिम्तीदेखि मोराहाङ जाने सडकमा पनि कम धुलो छैन । दैनिक बस गुडिरहेको सो सडकबाट जिरिखिम्तीबाट मोराहाङ पुग्नेहरु धुलोले सेताम्मे हुन्छन् । धुलोले आसपासका बस्ती प्रदूषित भएको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङका भीम भट्टराईले बताउनुभयो ।

निर्माणाधीन वसन्तपुर–गुफाबजार खण्ड भएर पनि अहिले दैनिक सवारी गुडिरहेका छन् । सो सडक पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्र प्रवेश गर्ने भएकाले पनि यहाँ सवारी चाप बढी छ । सडकमा सवारी गुड्दा उठ्ने धुलोले आसपासमा गुराँस नफुल्ने भएका छन् ।

“सडकमा सवारी गुड्दा उठेको धुलो गुराँसको कोपिलामा टाँसिन पुग्छ, अब यसपालि सडक आसपास कम मात्रै गुराँस फुल्ने निश्चित छ,” टुटे देउरालीका छिरिङ लामाले भन्नुभयो । सडकले आवतजावत गर्ने पर्यटकलाई सहज बनाए पनि धुलोका कारण यहाँको प्रमुख आकर्षण गुराँस नै मासिने अवस्थामा पुगेको उहाँको विश्लेषण छ ।

धुलोले मानव स्वास्थ्यमा तत्काल असर पारेर सास्ती दिए पनि सम्भावित दीर्घ रोगहरुबारे गाउँका सर्वसाधारण सचेत छैनन् । रुघाखोकीलाई सामान्य मानेर वास्ता नगर्नेहरुको स्वास्थ्यमा दीर्घकालीन रुपमा धुलोले नराम्रो असर गर्न सक्छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा धुलोबाट प्रभावित भएर बिरामीको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पतालका डा रोहित झाले बताउनुभयो ।

“धुलोबाट हुने इन्फेक्सन धेरै देखिएको छ, त्यस्ता बिरामी धेरै आइरहेको डेटा हामीसँग छ,” उहाँले भन्नुभयोे । धुलोले तत्काल गर्ने असरबाहेक धुलोका कणहरुबाट क्यान्सर, हृदयाघात र मस्तिष्काघात जस्ता खतराहरु हुने डा झाको भनाइ छ ।

उहाँले भन्नुभयो – “धुलोका कणहरु श्वासप्रश्वासमार्फत सिधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन्, रक्तसञ्चार प्रणालीमार्फत मुटुमा पुगेर जम्मा हुन्छन् र मष्तिष्काघात गराउँछन् ।” धुलोबाट बच्न अनिवार्य मास्क लगाएर हिँड्न सुझाउने उहाँ धुलोको प्रदूषण बढेसँगै जिल्लामा मुटुरोगी र मस्तिष्काघातको समस्या वृद्धि हुनसक्ने खतरा औँल्याउनुहुन्छ ।

ट्याग -  आलेख : धुलाम्मे सडक

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img