mobile

सुदूर पहाडमा भारी हिमपात

By Anu Rana on Jan 23,2019 - 11:01

मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ ।  बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

त्यस्तै गरेर दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको हो । 

भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन संचालनमा कठिनाई आएको छ। हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएको देखिन्छ ।

हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित बानेको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका छन् । 

हिमपातले हिउँदेबाली सप्रने भन्दै किसान खुशी भएका छन् । हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बाताउनु भएको छ । यसअघि गएको पुसको अन्तिम साता र मङ्सिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको थियो । 

ट्याग -  हिमपात

LATEST NEWS

SUGGESTED ARTICLES

img