mobile

थाइल्यान्डकी राजकुमारी प्रधानमन्त्री पदका लागि चुनाव लड्दै

By Anu Rana on Feb 10,2019 - 10:43

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ६७ वर्षेीया राजकन्याको यो निर्णयलाई थाइल्यान्डको राजतन्त्रात्मक इतिहासमा अप्रत्याशित घटनाका रुपमा लिइएको छ। साधारणतय थाइल्यान्डको राजपरिवार राजनीतिबाट टाढा रहँदै आएको छ।

थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ । उबोलरतनाको उम्मेदवारीले मार्च २४ तारिखको चुनावमा नयाँ तरङ्ग नै ल्याइदिएको छ । खासगरी, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ ।

थाइल्यान्डमा थाक्सिन समर्थक “राता” टिसर्टधारी र राजावादी “पहेंला” टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो । “राजकुमारी उबोलरतनाको छनौट सबैभन्दा उपयुक्त रहेकामा बोर्ड पूर्ण रुपमा सहमत छ,” थाई रक्षा चार्ट पार्टीका नेता प्रिचापोल पोङपानिचले संवाददाताहरुलाई बताउनुभयो । उहाँका अनुसार राजकुमारी निकै शिक्षित र सीपालु हुनुहुन्छ ।

यो पार्टी अर्बपति थाई नेता थाक्सिन शिनावात्राको प्रभावमा रहेको मानिन्छ । उहाँ थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुनुहुन्छ । उहाँलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् । राजकुमारीको उम्मेदवारी घोषणासँगै थाक्सिनलाई थाइल्यान्डको राजनीतिक नाटकको केन्द्रमा उभ्याएको छ । उहाँलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उहाँकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उहाँलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो ।

प्रयुत मातहतको सैनिकले आफूलाई राजतन्त्रको संरक्षकका रुपमा उभ्याएको थियो । तर उबोलरतनाको राजनीतिमा भएको आकस्मिक आगमनले प्रयुतमाथि नै सङ्कट निम्त्याएको छ । आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्याग्नुभएको थियो । तर जेन्सेनसँग उहाँको सम्बन्ध विच्छेद भइसकेको छ । त्यसपछि उहाँ थाइल्यान्ड फर्कनुभएको थियो । थाइल्यान्ड फर्किएपछि पनि उहाँलाई राजपरिवारकै सम्मानित सदस्यका रुपमा लिने गरिएको थियो ।

थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् । उहाँलाई रुसमा सम्पन्न सन् २०१८ को विश्वकपका समयमा थाक्सिन र यिङ्लकसँगै देखिएको थियो ।

ट्याग -  चुनाव

SUGGESTED ARTICLES

img
राजपामा रडाको

फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्ष अघि ९विसं २०७४ वैशाख ८ गते० पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ ।


by RSS | Today, 03:57 PM

img