mobile

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

By RSS on Feb 21,2019 - 15:23

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राख्नुभएको थियो । गत पुस १२ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले दिएको सुझावमाथि छलफल शुरु गरिएको बताउनुभयो । यसैगरी बैठकमा कार्यदलले पूर्ण प्रतिवेदन बुझाउनका लागि थप एक हप्ता समयमा माग गरेको छ । कार्यदलका सदस्य योगेश भट्टराईले पार्टी एकता ढिलाइ भइरहेकाले छिटो सम्पन्न गर्नका लागि आफूहरुले एक हप्ताको समय माग गरेको बताउनुभयो । 

“हामीले विभिन्न कारणले प्रतिवेदन दिन सकेनौँ”, उहाँले भन्नुभयो, “अब एक हप्ताको समय हामी सबैले माग गरेका छौँ । एक हप्ताको समयमा कार्यदललाई दिइएमा हामीलाई दिइएका सबै विषय जिम्मेवारीपूर्वक सम्पन्न गरेर सचिवालयलाई प्रतिवेदन बुझाउँछौँ ।” सचिवालयको अर्को बैठक शुक्रबार बस्ने भएको छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ । (रासस) 

ट्याग -  बैठक

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img