mobile

चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव

By RSS on Mar 15,2019 - 12:03

महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । 

बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा बर्दिवासको कृषि, घरेलु हस्तकला र यहाँका धार्मिकस्थलको फोटोसहितको प्रदर्शनी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनका सुलभ व्यापारिक स्टल राखिने सङ्घले जनाएको छ । महोत्सवमा स्थानीय स्वादका खाना तथा खाजाका स्टलसँगै गीत, सङ्गीतसहित मनोरञ्जनको व्यवस्था गरिएको आयोजकले बताएका छन् । महोत्सवमा मुलुकका प्रसिद्ध कलाकारले गीत, सङ्गीतसहितका मनोरञ्जनात्मक प्रस्तुति पस्कने कार्यक्रम छ । 

स्थानीय कृषि उपजलाई बजार प्रवद्र्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको सङ्घका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । बर्दिवासका स्थानीय उत्पादनको प्रचार र बजार प्रवद्र्धन, यहाँका धार्मिकस्थलको परिचय र महत्व दर्शाउने वृत्तचित्र प्रदर्शनी एवं व्यापार प्रवद्र्धन महोत्सवको मुख्य उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बर्दिवास नगरक्षेत्रभित्र टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान, लक्ष्मीनारायण र कामेश्वरनाथ महादेव मन्दिरसँगै पुरातात्विक महत्वको राईमण्डल धार्मिकक्षेत्र रहेका छन् । 

यहाँ निर्मित खुकुरी र यहाँ उत्पादन हुने उखुको सक्खर, रुखकटहरको फल, मौसमी बेमौसमी तरकारी फसल महोत्सवका प्रमुख आकर्षण हुने सङ्घले जनाएको छ । महोत्सवको अवसरमा बर्दिवास आइडल, खुला तथा एकल नृत्य प्रतियोगिता र बेहुली शृङ्गार प्रतियोगिता आयोजन गरिने महासचिव खतिवडाले जानकारी दिनुभयो । 

पूर्वपश्चिम राजमार्ग, विपी राजमार्ग, बर्दिवास सम्सी सडक र बर्दिवास जलेश्वर सडकको सङ्गम रहेको बर्दिवासमा आयोजना हुने महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएका छन् । 

आगलागीबाट दश लाख क्षति 

जिल्लाका बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो । 

बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आगलागी हुँदा बाख्रा–पाठा, भकारीमा राखिएको धान, मकैसहितको अन्नसँगै काठको गोठघर जलेर नष्ट भएको छ । फुँयालको गोठघर जल्दा रु तीन लाखभन्दा बढीको धनमाल नोक्सान भएको वडाध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो । 

गोठमा कुँडो पकाएपछि राम्ररी ननिभेको आगो वा बाटो हिँड्नेले ननिभाई फ्याँकेको चुरोटको ठुटाबाट आगलागी भएको हुनसक्ने घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासको उद्धार टोलीले जनाएको छ । आगो प्रहरी र स्थानीयवासीको प्रयत्नले नियन्त्रण भएको थियो । 

यसअघि मङ्गलबार जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बिजुली ठाकुरको पक्कीघरमा विद्युत् चुहिएर आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहनासहित रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको थियो । तराईमा प्रत्येक वर्ष चैत लागेसँगै बढ्ने आगलागीका घटनाले ठूलो धनजनको क्षति हुँदै आए पनि यसको नियन्त्रणको उपाय भने व्यवहारमा देखिन नसकिएको यहाँका सर्वसाधारणको गुनासो छ । जिल्लाका अधिकांश नगरपालिकामा अग्निनियन्त्रक दमकल नभएका र यसअघिदेखि दमकल रहँदै आएको जलेश्वर नगरपालिकाले मर्मत सम्भारमा ध्यान नदिँदा यसको उपयोग हुन नसकेको सर्वसाधारण बताउँछन् । (रासस)

ट्याग -  बर्दिवास महोत्सव ,

SUGGESTED ARTICLES

img
महजोडीलाई वसुन्धराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


by RSS | Apr 21

img