mobile

हिमालको लुलु गाई चितवनमा रमाउँदै

By RSS on Mar 19,2019 - 10:05

अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई यहाँको तापक्रममा पनि घुलमिल हुनसकेको छ । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ । एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन् । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार डेढ वर्षअघि ती गाईलाई यहाँ ल्याइएको थियो । मुस्ताङबाट ल्याएर दुई वर्ष काठमाडौँमा राखेपछि ती गाई चितवन ल्याइएको हो । आठ गाई र दुई साँढे ल्याइएका थिए । तीनै साँढे लगाएर गर्भिणी भएका चार गाईमध्ये एउटा एक महीनाअघि ब्याइसकेको छ भने तीन ब्याउने भएको आचार्यले बताउनुभयो । 

ती गाई यहाँको तापक्रममा पनि रमाउन सकेको उहाँले बताउनुभयो । गाईको अनुसन्धान केन्द्रमा नियमित रूपमा आहारा खुवाएर अन्य गाईलाई झैँ ती गाईलाई पनि पालिएको छ । ब्याएको गाईले दैनिक दुई लिटर बढी दूध दिएको उहाँले बताउनुभयो । मुख्यरूपमा मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको रूपमा यो गाईलाई लिने गरिन्छ । वयस्क हुँदा १५० किलोदेखि १६० किलोसम्मको तौल हुने यो गाईको साँढेको जुरो हुँदैन । प्रमुख आचार्यका अनुसार निकै बलियो मानिने यो गाईलाई झट्ट कुनै रोग लाग्दैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवन निर्वाह गर्नसक्ने क्षमता यी गाईमा हुने उहाँले बताउनुभयो । 

हिउँ पर्ने ठाउँमा आहारा खोजेर बाँच्न सक्ने क्षमता भएकाले यस गाईमा उन्नत जातको गाईसँग मिलाएर बलियो, जहाँ पनि घुलमिल हुनसक्ने र धेरै दूध दिने गाई उत्पादन गर्न सकिने आचार्यले बताउनुभयो । लोप हुँदै गएको यस गाईको संरक्षण गर्दै यसको असाधारण क्षमतालाई उन्नत गाईसँग मिलाएर देशका जुनसुकै हावापानीमा घुलमिल हुनसक्ने राम्रो गाई उत्पादन गर्न सकिने देखिएको छ । 

लुलुजस्तै तीन/चारथरीका गाईलाई क्रस गरेर नयाँ गाई निकाल्न पनि लुलु उपयोगी हुने देखिएको छ । लुलुलाई सम्पत्तिका रूपमा संरक्षण गरेर राख्ने उद्देश्य लिइएको आचार्यले बताउनुभयो । न्यून तापक्रममा हिमालमा हुर्किएका यी गाई तराईमा समेत घुलमिल हुन सक्नुले नेपालमा गाईको अनुसन्धानमा सहयोगीसमेत हुने देखिएको छ । 

ट्याग -  हिमालको लुलु गाई ,

SUGGESTED ARTICLES

img
मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।


by RSS | Apr 19

img