mobile

पब्जी खेल्दा भारतमा एक युवकको मृत्यु

By Anu Rana on Mar 25,2019 - 16:02

पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ ।

हाम्रो छिमेकी मुलुक भारतका केही सहरमा त यो गेमलाई प्रतिबन्धित गरिएको छ भने गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ समेत गरिएको छ ।

भारतमा पब्जी खेल्दा खेल्दै शुक्रबार एक युवकको मृत्यु भएको छ। तिलंगणाका २० वर्षीया युवकले ४५ दिनसम्म लगातार पब्जी खेलेपछि उनको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनको नाम भने खुलाइएको छैन।

लगातार पब्जी खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित एक अस्पतालमा लगियो । उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भएको हो ।

निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो । जसका कारण उनले ज्यान गुमाउनु पर्‍यो । तर विज्ञहरुले चाहीँ केवल मोबाइल गेमका कारण मांशपेशीमा समस्या उत्पन्न हुँदा ज्यानै गएको भन्न नसकिने र उनमा अरु नै स्वास्थ्य समस्या पनि रहेको हुनसक्ने बताएका छन् । 

भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भएका छन भने पब्जी गेमको कारण एक विद्यार्थी विश्वविद्यालयको परीक्षामा फेल भएका छन्। पब्जी गेमले गर्दा आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले पुलिसमा उजुरी समेत गरेका छन् । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

यो अनलाइन गेम निर्माता पब्जी कर्पोरेसनले पनि भारतमा भैरहेको आलोचनालाई मध्यनजर गर्दै एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने गरी बन्देज लगाएको छ । अर्थात् गेमप्ले टाइममा ६ घण्टाको सीमा तय गरेको छ । यो बन्देज केवल भारतमा मात्र लागू गरिएको हो र विश्वका अरु देशमा चाहीँ जो जति समयसम्म पनि पब्जी खेल्न पाउँदछ ।

पब्जीबारेका केही तथ्य

दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप PlayerUnknown’s Battlegrounds(PUBG)‍‍‍‍‍‍ हो ।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् ।

ट्याग -  पब्जी खेल्दा भारतमा एक युवकको मृत्यु

SUGGESTED ARTICLES

img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।


by Anu Rana | Apr 17

img