mobile

मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला

By RSS on Mar 26,2019 - 11:17

खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग काश्मिरदेखि कुमाउँसम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस भनिन्छ । यिनै खस जातिले पुज्ने कुलदेवताका रुपमा मष्टो रहेको छ । 

डा प्रयागराज शर्माका अनुसार मष्टोलाई कर्णाली प्रदेशको अत्यधिक लोकप्रिय ग्राम देवता मानिन्छ । नेपालबाहेक भारतको पञ्जाब, आसाम, त्रिपुरा, मणिपुर राज्यमा बसोबास गर्ने नेपाली मूलका ब्राह्मण, क्षेत्री, ठकुरी, बम तथा अन्य जातिले पनि मष्टोलाई कुलदेवताका रुपमा पूजा गर्दछन् । आर्य संस्कृतिमा ऋषिको मूलथलो कैलाश मानसरोवर क्षेत्रलाई लिइन्छ र मष्टोको उत्पत्ति त्यहीँ भएको जनविश्वास छ । मष्टोको पूजन सम्पूर्ण पश्चिम नेपालमा भएपनि सुदूरपश्चिमको पहाडी क्षेत्र बझाङ्ग, बाजुरा, बैतडी, डोटी, अछाम जिल्लामा यसको विशेष मेला लाग्छ र धुमधामका साथ पुजिन्छ । बझाङ्गको चैतली मेला (चाड), खप्तडको गङ्गा दशहरा र जुम्लाको मष्टो पूजा विशिष्ट खालको छ । 

धेरैजसो स्थानमा तोरण, आलम, घण्टी, दियो, त्रिशूल आयुधलाई नै मष्टो देवताको स्वरुप मानेर पुजिन्छ । मष्टोलाई कतिपयले इन्द्रको छोरा जयन्तको रुप पनि मान्दछन् । कतिले यिनलाई पाण्डवको सन्तान भनी मान्छन् । इन्द्रकी पत्नी सचिलाई मण्डलिनी भनिन्छ । यिनै मण्डलिनीलाई सम्झेर मष्टो मण्डली र अछाममा मष्टो बण्डलिनी पनि भनिन्छ । 

मष्टा देवता शान्त, दयालु, क्षमाशील र चाँडै खुशी हुने शिव अंश मानिने मूलतः सात्विक देवता हुन् । तर पनि रक्तबलि मागे दिने र दुर्गा भवानीका सानिध्यमा रहने हुनाले यिनलाई रक्तबलि भोगी पनि बनाएको बुझिन्छ । फलस्वरुप भगवान् शङ्करका गण मानिने यिनको कालान्तरमा पूजा विधिमा दुई भेद प्रचलनमा आयो । सात्विक पूजामा यिनलाई अक्षता, फूलपाती, दूध, दशी, घीउ र बाबर चढाइन्छ । साथै शुद्ध घीउद्वारा हवन पनि गरिन्छ । जनभाषामा दूध चढ्ने मष्टालाई दुधे मष्टा र बलि ग्रहण गर्नेलाई दाडे मष्टा भनिन्छ । यसको तीन हजार ८०० वर्षभन्दा बढी पुरानो इतिहास रहेको पाइन्छ । 

पृथ्वीलाई मानव जातिले आमाको रुपमा हेर्छ भने पृथ्वीको रक्षा गर्ने शिवको अंशको रुपमा मष्टा देवतालाई पृथ्वीको आमाको रुपमा मान्दछ । यसै मान्यताका कारण जमीनको भोग गर्ने मानव जातिले मष्टा देवतालाई मान्दैआएका हो । मष्टा देवतालाई कुनै ठाउँमा शिवको रुपमा पुजिन्छ भने कतै इन्द्रको जायो अर्थात छोरा÷नातिका रुपमा पनि पुजिन्छ भन्ने भनाइ छ । कुनै ठाउँमा प्रकृतिको प्रतीक मानेर पुजिन्छ । 

परम्परावादी धारणा 
भारत खण्डको सम्पूर्ण क्षेत्रमा पौराणिक कालमा देव र दानव रुपमा सङ्घर्ष चलिरहेको कुरा धार्मिक शास्त्रमा उल्लिखित छ । महिसासुर दानवले तपस्या गरी ब्रह्माजीलाई रिझाई “पुरुषको हातबाट नमरुँ, स्त्रीको मलाई डर छैन” भन्ने वरदान मागी सो कार्य पूरा गर्न देवताहरुलाई पराजित गरिरहेको अवस्थामा इन्द्रपुत्र जयन्तलाई पनि पराजित गर्न पिछा गर्दा इन्द्रासैन खल्बलिएर भारतको सकद्वार छोडी हिमखण्डमा आउँदा मष्टा देवको उत्पत्ति भएको भन्ने भनाइ बमोजिम बझाङ्गमा मष्टादेवता प्रकट भएको भन्ने जनविश्वास छ । 

अर्को तर्फ भारतकै मेवाड भन्ने ठाउँमा राजा जयदेव रानाले मष्टादेवतालाई सर्वाेपरी मानी पूजाआजा गर्दथे । त्यसै समयमा हिन्दू र मुस्लिमको लडाइँ हँुदा मष्टादेवता पुजिरहेको स्थानमा गौमासको बध गरी गाईको रगत मन्दिरमा छर्दा मष्टादेवताबाट ‘हे राजन, तिमी मेरो नाति हांै, यो ठाँउमा हाम्रो बसाइ हँुदैन, म पहाडी भेग हिमालयमा खण्डको लेक, बेंसी तथा पत्थरमा प्रवेश गर्नेछु, तिमी पनि सोही ठाउँमा आउनू’ भनी आकाशवाणी भयो र सोही बमोजिम खोजी गर्दै जाँदा पहाडी भेगको बझाङ्ग जिल्लाको देउबाज भन्ने ठाउँमा बान्नी मष्टा प्रवेश गरेको भन्ने बझाङ्ग पाटागाउँ निवासी स्थानीय रजवार स्व लाल बहादुर सिंहको भनाइ रहेको छ । 
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा भिन्नभिन्न ठाउँमा भिन्नभिन्न किसिमले मष्टाको उत्पत्तिसम्बन्धी धारणा रहेको पाइन्छ । 
डा सुरेन्द्र केसीका अनुसार मष्टा भनेको भूमिको आमा, सम्पूर्ण सृष्टिको सृष्टिकर्ता, खस जातिको मुख्य कुलदेवता, पथ प्रदर्शक, पालनकर्ता, सम्भारकर्ता भन्ने बुझिन्छ । मष्टादेवता सम्पूर्ण हिन्दू जातिको नभई खस जातिको इष्टकुल देवता हो । 

युफ्रेट्सबाट (आजभोलि इराक) मानव जाति, मोसोपोटामियाबाट युराल पर्वत आइपुग्दछ र अफगानिस्तानबाट खैवर भञ्ज्याङ (हाल पाकिस्तान र अफगानिस्तानको बीचमा छ) एउटा शाखा गंगाको मैदानमा ओर्लिन्छ । त्यहाँबाट एउटा शाखा बिलममा ओर्लिन्छ । अर्काे शाखा काश्मिरमा जान्छ । त्यस ठाउँमा खस्किल भन्ने पर्वत छ । प्रकारान्तले खस्किल भन्ने पर्वतमा बस्ने मान्छे नै खस जाति भएको हो भन्ने भनाइ छ । त्यसपछि कुमाउँ गडवाल आउँछ । छैटौँ शताब्दीमा खस जातिको अस्तित्व कर्णालीमा देखिन्छ । त्यसको ४०० वर्ष अघि कुमाउँ गडवालमा खस जातिले राज्य गरेको देखिन्छ । त्यसैले त्यस ठाउँमा पनि मष्टादेवता पुज्ने गरिन्छ । महाभारतमा खस जाति युधिष्ठिरको पक्षमा लडेको भनिन्छ । खसलाई लडाका जाति पनि भनिन्छ । जुम्लाबाटै सुदूरपश्चिमभरि खस जाति सँगै मष्टादेवताको पूजा गर्ने चलन चलेको हो । त्यसपछि खस जातिको बसाइँ पूर्वतिर सर्ने क्रममा त्यही जातिका मान्छेले मष्टादेवता पुजिआएको देखिन्छ । 

मष्टा मान्ने खस जातिलाई जंग बहादुर राणाको पालामा हिन्दूकरण गरिएको डा केसी बताउनुहुन्छ । खस जातिको राज्य कुमाउँ गडवालदेखि गोरखासम्म रहेको भनाइ पनि रहेको छ । पहिले बाइसे चौबीसे राज्य भएर पृथ्वी नारायण शाहले नेपाल राज्यको एकीकरण गरेका हुन् । देवाली गरेर धामीझाँक्रीको माध्यमबाट मष्टादेवको पूजाआजा गर्ने गरिन्छ । 
डोटी रैका राजा र जुम्लाका मल्ल राजाका कुलदेवता तेडी हुन् । तेडी मष्टो थिए । डोटी रैका राजाका मष्टो कुलदेवता मध्य र पूर्वी नेपालमा कुलदेवतालाई वारह मष्टो भन्ने चलन छ । बाह्रभाइ मष्टो भन्दाभन्दै वारह मष्टो भनिएको हुनसक्ने विचार डा सूर्यमणि अधिकारीको छ । 

यसलाई मष्टि पनि भनेको पाइन्छ । भेरी, सेती, कर्णाली र महाकाली अञ्चलको जीवनमा मष्टाको मान्यता सर्वाेपरी रहेको पाइन्छ । जहाँ क्षेत्रीय छाइलो, त्यहाँ मेरो पाइलो भन्ने कथनअनुसार पश्चिमबाट मध्यमाञ्चल र पूर्वतिरका क्षेत्रीबाहुनहरुले कुलदेवताको रुपमा मष्टोको पूजाआजा गर्दछन् । यसले खस संस्कृतिलाई प्रभाव पारेको छ । ठकुरी, बाहुन, क्षेत्री, सन्न्यासी, कामी, दमाई, सार्की, गन्धर्व, वादी, राउटे र शिव पूजन गर्नेहरुले मष्टोलाई मान्छन् । 

मष्टाको उत्पत्ति केलाउने हो भने ‘बान्निमष्टा फुटे, ढणार लुटे’ भन्ने जनकथन पाइन्छ । यी दुवै ठाउँ बझाङ्ग जिल्लामा पर्ने भएकाले मष्टादेवताको थलोको रुपमा देखापर्छ । मष्टा देवताको हाँगाबिँगा छरिँदै १२ वटा शाखामा विभाजित भएको पाइन्छ । बझाङ्ग छबीसमा बाह्र अङ्गालेको मष्टो अथवा पश्चिम नेपालको लोक भाषामा बाह्रभाइ मष्टाको नामावली ठाउँअनुसार फरक फरक छ । जुम्ला, पाण्डुसेरामा अपि मष्टो, खापर मष्टो, वाविरो मष्टो, काला मष्टो, ढँडार मष्टो, कावा मष्टो, मण्डली मष्टो, दाडे मष्टो, दाह्रे मष्टो नामले चिनिन्छ । 
ढँडार मष्टोलाई जेठो मष्टो मानिन्छ । बझाङ्गमा बान्नी मष्टो पहिला त्यसपछि ढँडार मष्टोको पनि उत्पत्ति भयो भन्ने पनि भनाइ छ । तर ढँडार र बान्नी मष्टो एउटै हो भन्ने पनि भनाइ छ । गुरो मष्टो र विजय मष्टोलाई भाइ राजा मानिन्छ । गुरो मष्टोको मूल थलो हुम्ला जिल्लाको सोरुदरा गाउँमा छ । मष्टालाई देवीको सेनानी र आफ्नो मष्टक थापेर राक्षससित लडेकाले मष्टो नाम रहेको पनि भनिन्छ । जुम्लाको कालीकोट वरामा मष्टालाई पाण्डवको अवतार पनि मानिन्छ । खापर मष्टोलाई इन्द्रको छोरा पनि भनिन्छ । मष्टा देवता चढेको धामीको बोली÷वाणी दैवतुल्य मानिने हँुदा उक्त वाणीलाई जनभाषामा बुझाउन र जनभाषामा सोधिएका कुराहरु मष्टा देवताकहाँ पु¥याउन दोभाषेको आवश्यकता पर्दछ । मष्टोले पश्चिम नेपालको खस संस्कृतिमा गहिरो प्रभाव पार्दैआए पनि पूर्व र मध्य कालका कुनै पनि अभिलेखमा स्पष्टसँग यसको उल्लेख गरिएको पाइँदैन । पृथ्वी मल्लको संवत् १३५६ को कथनमा गोसाई शब्दलाई मष्टोसँग सम्बन्धित गराउन सकिन्छ । बझाङ्गको चैतली मेलामा “कसु कसु देवले उपायो चैतल मष्टा गोसाई, देवले इन्द्र चैतल पाई” भन्ने फाग गाएको पाइन्छ । सुर्ति साईको संवत् १५४७ (ई १६२४) को एउटा कागजमा मष्टो शब्दको उल्लेख छ । यसैलाई विद्वानले मष्टोको सबैभन्दा पुरानो अभिलेख भनी मानेका छन् । (रासस)

ट्याग -  ऐतिहासिक , बझाङ्ग ,

SUGGESTED ARTICLES

img
मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।


by RSS | Apr 19

img