mobile

यार्सा सङ्कलनमा विद्यार्थीलाई रोक

By RSS on Apr 11,2019 - 15:26


 जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो ।

गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । अधिकृत बढथापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको बताउनुभयो । विद्यार्थी यार्सा टिप्न जाँदा तीन महीना विद्यालय बन्द हुने गरेका छन् । उहाँले भन्नुभयो, “यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यालयमा पढ्ने बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ ।”

यार्सा सङ्कलन गरिने यो समयमा बालबालिकासमेत लिएर अभिभावक पाटन जाने गर्छन् । त्यसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन् । यार्सा टिपाइका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने गरेकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सरोकारवालाले विद्यार्थीको शिक्षा र भविष्यप्रति जिम्मेवार बन्न अभिभावकलाई दबाब दिँदै आएका छन् ।

प्रशासकीय अधिकृत बढथापाले भन्नुभयो, “यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यार्थीलाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ ।” गाउँपालिका अध्यक्ष लछिमाने बोहोराले पाटनबाट यार्सा बेचेर ल्याएको पैसा एकातिर विद्यार्थीको शिक्षामा लगानी नहुने र अर्कोतिर विद्यालयको पठनपाठन पनि प्रभावित हुने भएकाले गाउँपालिकालाई निकै गम्भीर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी शिक्षा नै जीवनको आधार हो भन्ने मान्यतालाई स्थापित गर्न शिक्षक, अभिभावक र विद्यालयलाई जिम्मेबार बनाउन लागिपरेका छौँ ।”

अध्यक्ष बोहोराका अनुसार बालबालिकालाई पाटन जानबाट रोक्न निकै मेहनत गरिँदै छ, शैक्षिक सचेतना बढाउन ठाउँ–ठाउँमा सडक नाटक प्रदर्शनलाई अभियानकै अङ्ग बनाइएको छ । पाटन नपठाउनेबारे छलफल चलाउन प्रत्येक विद्यालयलाई गाउँपालिकाले परिपत्रसमेत गरेको जनाउँदै उहाँले भन्नुभयो, “तीन महीना पाटन बस्दा रु ५० हजार कमाउँछन् तर नियमित विद्यालय गए भविष्य बनाउने छन् ।” पातारासीका नौ आधारभूत विद्यालयबाट थालिएको शैक्षिक जागरण अभियान आगामी वैशाख १० गतेसम्म चल्ने बताइएको छ ।

गाउँपालिकाले गरेको निर्णय अवज्ञा गरेर पाटन लैजाने अभिभावकलाई के गर्ने भन्ने विषयमा पुनः गाउँ शिक्षा समितिको बैठक बसेर निर्णय गरिने उहाँले बताउनुभयो । वैशाख, जेठ र असार महीनामा यार्सा टिप्न यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म पाटन जाने चलन छ । अभिभावक काखको बच्चा बोकेरसमेत यार्सा टिप्न पाटन जाने गर्छन् । जुम्लामा पढ्ने समयमा पाटन जाने र पछि महँगो शुल्क तिरेर ट्युसन पढ्ने परम्परासमेत हाबी छ ।

भैँसीपालन लोप हुँदै

जुम्लामा भैँसीपालन लोप हुँदै गएको छ । कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले एउटै घरमा पाँचदेखि छ भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी देखिने गरेको गुठिचौर गाउँपालिका–५ का हरिचन्द्र धितालले बताउनुभयो । गाउँका स्थानीयले भैँसी पाल्न क्रमिकरुपमा छाड्न थालेपछि यहाँ दुग्धजन्य पदार्थमा पनि कमी आउन थालेको छ ।

गाउँबाट दूध आउन बन्द हुँदा बजारमा रहेका होटेल, चिया पसलले दूधका लागि जिल्ला बाहिरबाट प्याकिङ गरेको दूध मगाउन बाध्य भएका आचार्य डेरी उद्योगका प्रोपाइटर खडानन्द आचार्यले बताउनुभयो । भैँसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गएको चन्दननाथ नगरपालिका–४ मालाभिडका भैँसीपालक किसान कृष्णप्रसाद देवकोटाले बताउनुभयो ।(रासस)

ट्याग -  यार्सा ,

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.