mobile

मोटरबाटो बन्द हुँदा यात्रुलाई सास्ती

By RSS on Apr 15,2019 - 13:02

मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ ।

सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उहाँ भन्नुहुन्छ ।

यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताउनुहुन्छ । “चाँडो सक्नुपर्ने काम ढिलो गरेर सक्दा हामीजस्ता यात्रुलाई समस्या परेको छ”, उहाँ भन्नुहुन्छ ।

यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । सामाखुशीदेखि ग्रीनल्याण्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन् । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुशी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए ।

काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो । सामाखुशी ग्रीनल्याण्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुशी चोकदेखि वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्याण्ड जानुपर्ने बाध्यता रहेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौला ग्राण्डीजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताउनुहुन्छ । “सरकारले पूर्वाधार निर्माणमा ढिला हुँदा लाखौँ जनताले दुःख पाएका छन्”, उहाँ भन्नुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुशी चोकदेखि ग्रीनल्याण्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउनुहुन्छ । “ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको छ”, उहाँ भन्नुहुन्छ ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताउनुहुन्छ । “टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हो”, उहाँ भन्नुहुन्छ । बाटो फराकिलो र ढल निर्माण भइसक्न अझै एक महीना लाग्ने उहाँको भनाइ छ ।(रासस) 

ट्याग -  मोटरबाटो बन्द ,

SUGGESTED ARTICLES

img
छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’

पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन् । छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार एवं निबन्ध तथा उपन्यासकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिनुभएको हो ।


by RSS | Today, 12:41 PM

img