mobile

आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो 

By Anu Rana on May 03,2019 - 10:31

भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

भारतीय सञ्चार माध्यम अनुसार, बिहीबारसम्म आठ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। ओडिसाका मुख्यमन्त्री नवीन पटनायकको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकले स्वास्थ्यकर्मीको बिदा रद्द गरेको छ । दुई सातासम्म स्वास्थ्यकर्मीलाई विदा नदिइने भएको छ । उनीहरूलाई आपतकालिन अवस्थाका लागि तयारी अवस्थामा राखिएको जनाएको छ ।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्न सक्ने इलाकाबाट सारिएको बताएका छन् ।

‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बङ्गलादेशतर्फ लाग्ने बताइएको छ ।

क्षति न्युनिकरणका लागि एक सयभन्दा बढी रेल सेवा रद्द गरिएको छ ।फानीको आपतकालिन उद्दारका लागि आन्ध्र प्रदेशमा ४१, ओडिसामा २८ र बंगालमा पाँच टिम तैनाथ गरिएको छ।यो आँधीको प्रभाव भोलि पूर्वि नेपाल नजिक पुग्ने बताइएको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ । करिब एक हजार विद्यालय र सरकारी भवनहरुका १० लाख भन्दा बढी व्यक्तिलाई शरण दिइएको बताइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिल नाडुलाई पनि यस आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ ।

भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ । सन् २०१७ मा तामिल नाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २ सय ५० व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै ६ सय व्यक्ति वेपत्ता भएका थिए ।

गत अक्टोबरमा पनि सामुद्रिक आँधी टिल्लीको कारण ओडिसा राज्यबाट करिब ३ लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो ।

 

ट्याग -  आँधीको डरले ८ लाख मानिसलाई , सुरक्षित स्थानमा सारियो 

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img